ताजा अपडेट »

पुराना र ठूला दल नैतिक र वैचारिक रुपमा स्खलित भएः डा.भट्टराई

आइतबार, १२ मंसिर २०७८

बुटवल । जनता समाजवादीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना तथा ठूलादलहरुले जनतालाई भ्रममा पारिरहेको बताए । उनले हालै सम्पन्न नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्र, नेपाली कांग्रेस र माओवादी केन्द्रको महाधिवेशनलाई इंगित गर्दै पुराना दलहरुमा जनमत बढी भएता पनि वैचारिक र नैतिक रुपमा स्खलन भएको आरोप लगाए ।

जनता समाजवादी पार्टी रुपन्देहीले आइतबार बिहान बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् । उनले भने पुराना र ठूला दलमा उपस्थिति ठूलै होला तर, तर वैचारिक रुपमा तिव्र स्खलन छ । नैतिक, चारित्रिक आचरणले देशबासी र संसारले लज्जित हुनुपर्ने अवस्था छ । तिनीहरुले आफ्नो धन, शक्तिको प्रदर्शन गरेर जनतालाई भ्रममा राख्ने प्रयत्न राष्ट्रिय राजनीतिमा छ । जनताको जीवनस्तर एकापट्टि छ, राजनीतिक दल र तिनका नेताहरुको तडक–भडक र तामझाम अर्कैतिर छ ।’

उनले नोपलको राजनीतिक दलका कारण अन्तराष्ट्रिय चासो र खतरा रहेको औंल्याएँ । यसका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए । उनले भने ‘नेपालको अवस्थाले अमेरिका लगाएत अन्तराष्ट्रिय चासोले नेपालप्रति एउटा विश्वत्वनै शक्ति संघर्षको केन्द्र बन्ने खतरा छ । हामीले त्यस बारे गम्भिर विमर्श गरेका छैनौं । उल्टो एउटा राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ताको रक्षा र विकास र समृद्धिको निम्तितर्फ हाम्रो ध्यान पुगेको छैन ।’

हाल जनता समाजवादीले उठाएको राष्ट्रिय एकता कायम गर्ने मुद्दाअनुसार अगाडि नबढ्ने हो भने देशमा फेरि अर्को प्रकारको द्वन्द्व उत्पन्न हुने देखिएको उनले बताए । यसका लागि राष्ट्रिय जनता समाजवादी पार्टीले उठाएको राष्ट्रिय एकता,दिगो शान्ति र रुपान्तरणका आवश्यक रहेको जनाए ।

कार्यक्रममा जनता समाजवादीका केन्द्रिय सल्लाहाकर समितीका अध्यक्ष विष्णुहरि शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, मुख्यसचिव यज्ञ पोखरेल, लुम्बिनी प्रदेशकी श्रम रोजगार तथा यातायात मन्त्री पुर्मती ढेँगा, केन्द्रिय सदस्य बिमल गिरी, मनिकर कार्की, छन्द पन्थी र पंकज राई लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

https://www.globalaawaj.com/archives/158490