बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औं विश्वविद्यालय दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गरी मनाउँदै छ । बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रित रहेर विभिन्न कार्यक्रमसहित रुपन्देहीको लुम्बिनी स्थित बौद्ध विश्वविद्यालयले प्रथम त्रियान प्रज्ञा सम्मेलन गर्ने भएको छ ।
०६१ सालमा स्थापना भएको विश्वविद्यालयले मंसिर १३ गतेदेखि १७ औं विश्वविद्यालय दिवस मनाउँदैछ । दिवसको मुख्य समारोह राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता,गृहमन्त्री बालकृष्ण खाँणको विशिष्ट आतिथ्यता,दुई दर्जन बढी सांसद लगाएतको आतिथ्यतामा हुन गइरहेको विश्वविद्यालयले जनाएको छ ।
दिवस बारे विश्वविद्यालयले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । सो अवसरमा विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध इतिहास र दर्शनलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालित बौद्ध विश्वविद्यालयले संस्कृति र संरक्षणमा बौद्ध दर्शनको महत्व जनाउन विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको जनाए ।
उनले बौद्ध दर्शनका तीन पाटाहरु रहेको बताए । ‘थेरवाद र महायान बौद्ध दर्शनका दुई पाटा हुन, नेपालमा महायानभित्र पनि बज्रयानको संस्कृति छ, त्यी सबैलाई समृद्धिसंग जोड्न कसरी सकिन्छ भन्ने कुरा विज्ञहरुमार्फत सम्मेलनमा मन्थन हुनेछन,’ उनले भने ।
विश्विद्यालय दिवसको अवसरमा मंसिर १३ गते बुटवलको नयाँगाउँस्थित सिटी कलेजमा रक्तदान कार्यक्रम रहेको छ भने १४ गते लुम्बिनीमा मुटुरोग स्वास्थ्य शिविर आयोजना गरेको छ ।
सोही दिनमै शान्ति, समझदारी तथा दिगो विकासका लागि पत्रकारिता कार्यशाला गोष्ठी हुने रजिष्ट्रार आचार्यले जानकारी दिए । सो गोष्ठीमा लुम्बिनी प्रदेशका २५ जना पत्रकारहरुको सहभागिता हुने उनले जनाए । मंसिर १४ गते नै बुद्धमूृर्ति प्राण प्रतिष्ठा तथा स्तुपा पुजन र साँझ दीप प्रज्वलन कार्यक्रम राखिएको छ ।
मंसिर १५ गते त्रियान प्रज्ञा सम्मेलन हुनेछ । सो सम्मेलनमा देशभरका बौद्ध विद्धानहरु सहभागि हुने विश्वविद्यालयले जनाएको छ । मंसिर १५ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्मेलन हुनेछ । सम्मेलनको दोस्रो खण्डमा बौद्ध शिक्षा र शिक्षण पद्धतिको विषयमा तीन जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने रजिष्ट्रार आचार्यले जानकारी दिए । सम्मेलनको घोषणापत्र मंसिर १६ मा जारी हुने उनले जानकारी दिए ।
मंसिर १६ गते शान्ति र शिक्षाका लागि साइकल यात्रा आयोजना हुने छ । १६ गते नै मूल समारोहसहित दिवस समापन हुनेछ । राष्ट्रपतिले केन्द्रीय पुस्तकालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ९ करोड २० लाखको लागतमा विश्वविद्यालयले केन्द्रीय पुस्तकालय निर्माण गरेको छ ।
तीन तले पुस्तकालय भवनमा बैठक कक्ष, इ लाइब्रेरी, पुस्तक कक्ष, आइटी रुम, भिडियो कन्फ्रेन्स रुम र ५०० क्षमताको सभाहल रहेका विश्वविद्यालयका सूचना अधिकृत चुरामणि पोखरेलले जानकारी गराए ।सोही दिनै राष्ट्रपतिद्वारा विश्वविद्यालयले प्रकाशन गरेका ६ वटा पुस्तक लोकार्पाण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै बुद्धमूर्तिको अनावरण र सम्मान कार्यक्रम समेत राखिएको उनले बताए ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले बौद्ध विश्वविद्यालयले आफूलाई परिचित गराउँदै अगाडि बढेको बताउँदै बौद्ध धर्म र दर्शन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । साथै उनले पत्रकार र विश्वविद्यालयबीच सहकार्यको आवश्यकता औंल्याएँ ।
विगत ८ वर्षदेखि सञ्चालित लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय अन्र्तगत विभिन्न विषय सञ्चालन गरिरहेको छ ।
लुम्बिनी, बुटवल र देवदहमा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । यो अवधिमा विश्वविद्यालयले शैक्षिक तथा प्रशासनिक भवन, केन्द्रीय कार्यालय भवन, केन्द्रीय पुस्तकालय भवन, केन्द्रीय क्याम्पस भवन, छात्रा वास (छात्रछात्रा), शिक्षक आवास गृह, पदाधिकारी आवस गृह, बुटवल सिटी कलेज, अनुसन्धान केन्द्र (निर्माणाधिन) निर्माण गरेको छ ।
प्रतिक्रिया