ताजा अपडेट »

एकताको सन्देशसहित लुम्बिनीबाट जनमत पार्टीको “माटी यात्रा”

शुक्रबार, १० मंसिर २०७८

भैरहवा । सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले समग्र नेपालको एकताको सन्देश दिने गरि “जनमत माटी यात्रा” सुरु गरेको छ । पूर्व मेचीदेखी पश्चिमको महाकालीसम्म रहेका करिब प्रत्येक स्थानीय तहमा पुग्ने लक्ष्य सहित जनमत माटी यात्रा सुरु गरिएको जनमत पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर सिके राउतले जानकारी दिएका छन् ।

यात्रा गौतम बुद्धको जन्मस्थल पवित्र भुमि लुम्बिनीबाट सुरु गरिएको छ । जनमत पार्टीका केन्द्रिय सचिव एवम् रुपन्देही जिल्ला समितिले लुम्बिनीको माटो राउतलाई हस्तान्तरण गर्दै यात्रा अभियानको सुरुवात गरेको हो । लुम्बिनीमा पत्रकारहरुसित संक्षिप्त कुरा गर्दै राउतले अभियानको मूख्य उद्देश्य भनेको हरेक स्थानिय तहको गाउँ घर सम्म पुगि त्यहाको माटो संकलन गर्ने र अन्तिममा एउटा उद्यान बनाउका लागी प्रयोग गरिने रहेको जानकारी दिए । उनले उद्यानमा माटो संकलन गरिएको स्थानिय तहको बिशेष परिचय खुल्ने जानकारी सहितको एकता उद्यान बनाउने लक्ष्य राखी लुम्बिनीबाट यस अभियानको सुरुवात गरिएको उनले बताए ।

उद्यान बनाउने लक्ष्य राखिएको भए पनि उद्यान कहा बनाउने भन्ने बिषयमा अहिले नै टुङ्गो लागेको छैन । उनले यो यात्रा लगातार नभई चरणवद्ध रुपमा गरिने र अहिलेलाई ३ जिल्लामा मात्र गरिने बताए । पछि यसको लोकप्रियता र जनाधार हेरी अन्य जिल्लाहरुमा पनि यसलाई बिस्तार गरिने राउतले जानकारी दिए । राउतले अहिले पनि नेपालीहरु जातीको नाममा, भुगोल लगायतको नाममा बिभाजित रहेकोले त्यसलाई मेटाएर यो अभियानले एकता सन्देश समेत दिन खोजेको बताए ।

राउतले संघियता आएपछि देश नै टुक्रिने लगायतका गलत प्रचार गरिएकोले यो अभियानले सबै प्रदेशलाई जोडेको सन्देश दिने गरि राजनितिक सन्देश बोकेको जिकिर गरे । जनमतको माटी यात्रा सुरु गराउने पार्टीका केन्द्रिय उपाध्यक्ष अब्दुल खाँन, केन्द्रिय सचिव भोपेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।