गुल्मी । गुल्मी जिल्ला अस्पतालको अत्याधुनिक भवन निर्माणको काम तिब्र गतिमा अगाडी बढेको छ । गुल्मी अस्पताल स्थापना भएको लामो समयदेखि जीर्ण र साँघुरो भवनबाट सेवा प्रवाह गर्न बाध्य रहेको थियो । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणले तिब्रता पाएपछि खुसी छाएको छ । गुल्मी अस्पतालमा रहेका भवनहरु साना र सेवाग्रही मैत्री नहुँदा समस्या हुँदै आएको थियो ।
अब गुल्मी अस्पतालको सुबिधासम्पन्न अत्याधुनिक भवन निर्माण कामको तिब्र गतिमा अगाडि बढेको छ । २०७८ साल असार १८ गते सम्झौता भइ काम सुरु भएको भवनको २०८० साल असार १७ गतेसम्म सम्पन्न गर्ने गरि काम अगाडि बढेको छ । जिल्ला अस्पतालको भौतिक संरचना निमार्णका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आयोजना कार्यान्वयन इकाई भवनबाट रकम विनियोजन गरेको छ । अस्पताल निर्माणको लागि स्वच्छन्द–बालियाँ जे.भी मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँमा निर्माणको काम अगाडि बढेको हो ।
गत साउन १५ गतेबाट निर्माणको काम सुरु भएको भवनको मंसिरको पहिलो सातासम्म १२ प्रतिशत काम भएको निर्माण कम्पनीका साहयक इन्जीनियर निरञ्जन ठाकुरले बताए । यहि गतिमा काम गर्दै गए अबको डेढ वर्ष भित्र काम सम्पन्न हुने उनले बताए । भवन निर्माणको लागि दिन रात गरेर २४ सै घण्टा काम भइरहेको छ । अहिले फाउण्डेशन निर्माणको काम भइरहेको छ ।
गुल्मी अस्पताल तम्घास ०७१ सालमा ५० शैय्यामा स्तरवृद्धि भएको थियो तर, भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको थिएन । पाँच तले नयाँ भवनमा दुई वटा अप्रेशन कक्ष हुनेछन् । भने आइसियू, सर्जिकल, जेष्ठ नागरिक कक्ष, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गुल्मी अस्पताल प्रमुख डाक्टर उत्तम पाच्यले बताए । संरचन निर्माण भएपछि सम्बन्धी बिशेषज्ञ पनि परिपूर्ति हुनसके जिल्ला वासीको निम्ति ठूलो खुसीको कुरा रहेको डाक्टर पाच्यको भनाई छ ।
अहिले आबश्यक संरचना नहुदा चाहेर पनि बिरामी भर्ना गर्न कठिनाइ हुने गरेको उनले बताए । अहिले पनि गुल्मी अस्पतालबाट ठाउँकै कारण सेवामा कुनै कमी नभएको डाक्टर पाच्यको भनाई छ ।
नयाँ भवन बनेपछि प्रसुती, नाक, कान, घाँटी र हाडजोर्नीलगायतका रोगको विशेषज्ञसहितको सेवा विस्तार हुनेछन् । नयाँ भवन निर्माणसँगै गुल्मीमै थप सेवा बिस्तार हुनेभएकाले गुल्मी वासीको लागि खुसीको कुरा रहेको स्थानीय घनश्याम पाण्डेले बताए ।
भवन निर्माणसँगै जिल्लाले स्वास्थ्यको क्षेत्रमा धेरै फडको माने उनले बताए । भवन छिटो निर्माण भए गुल्मीबाट उपचारको लागि अनेत्र जानुपर्ने बाध्यता धेरै कम हुने पाण्डेले बताए । अहिले गुल्मीमा स्तरीय स्वास्थ्य सेवाको अभावमा स्थानीयहरु पाल्पा र बुटवल, काठमाडौं धाउनुपर्ने बाध्यता छ । अस्पतालको नयाँ संरचना निर्माणसँगै उपचारकै लागि पाल्पा, वुटवल र काठमाडौं जानुपर्ने अन्त्य हुनेछ ।
प्रतिक्रिया