ताजा अपडेट »

लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्याल कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

विहीबार, ०९ मंसिर २०७८

भैरहवा । लुम्बिनी प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेसकी नेतृ रमा अर्याल नेपाली कांग्रेसको १४ औ अधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन ।

रुपन्देही -३ को प्रत्यक्ष महिला तर्फ महाधिवेशन प्रतिनिधिको उम्मेद्वार अर्यालले २ सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए । रामचन्द्र पौडेल समुहबाट मातृका प्रसाद यादव प्यानलमा रहेकी प्रदेश सभा सदस्य अर्याल पराजित हुँदा देउवा नजिकका सुशील गुरुङ प्यानलकी अर्का प्रदेस सभा सदस्य पुष्पा थरुनी भने विजयी भएकी छन्।

थरुनीले ३ सय ९४ मत प्राप्त गरेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए । ४ जना प्रत्यक्ष महिला चुनिने स्थानमा यादव पक्षबाट ४ जना र गुरुङ पक्षबाट ४ जना गरि ८ जना महिलाहरुले महाधिवेशन प्रतिनिधिको लागि उम्मेद्वारी दिएका थिए । जसमध्ये गुरुङ प्यानलका चारै जना विजयी भएकाछन् । प्रदेश सभा पुष्पा थरुनी बाहेक जन्नतुन निशा धुनिया (३ सय ३१ मत), बिना न्यौपाने (३ सय ६९ मत) र रमा कुमारी अधिकारी (३ सय १५ मत) रहेका छन्।

रुपन्देहीमा ५ जना प्रदेस सभाका सदस्यहरु नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवार बनेका थिए । क्षेत्र नम्बर ५ मा फकरुद्दिन खान, क्षेत्र नम्बर ४ मा वसिउद्दिन खान र अस्टभुजा पाठक निर्विरोध निर्वाचित भएका थिए । ६ सय ७२ मतदाता रहेको निर्वाचन क्षेत्र-३ मा ६ सय ५० मत खसेको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।