असोज २८,
काठमाडौँ। सन् २०१९ का लागि अर्थशास्त्रका नोबल पुरस्कार विजेताहरु नेपालसँग सम्बद्ध रहेका छन् । सोमबार तीन जना अमेरिकी अर्थशास्त्रीलाई यस वर्षको नोबल पुरस्कार दिने घोषणा भएको हो।विजेतामा अभिजित बेनर्जी, उनकी श्रीमती इस्थर डफ्लो र माइकल क्रेमर छन् । उनीहरुलाई गरिबी निवारण र एसिया तथा अफ्रिकाका लाखौं बालबालिकालाई शिक्षा हासिल गर्न सहयोग पुर्याएबापत पुरस्कार दिइएको हो । डफ्लो अर्थशास्त्रमा नोबल पुरस्कार पाउने दोस्री महिला हुन् ।
उनीहरुद्वारा प्रवद्र्धित र्यान्डमाइज्ड कन्ट्रोल ट्रायल अर्थात् आरसिटी नामक अनुसन्धान विधि सबैभन्दा वैज्ञानिक मानिएको छ। ‘यो विधिको प्रयोग चिकित्सक, शिक्षा र विकास परियोजनाको सफलता मापनमा निकै उपयोगी छ’, राष्ट्रिष्य योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले भन्छन्, ‘यो विधि विगत २ दशकमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देशहरुमा प्रयोग गरिएको छ।’आरसिटी विधिमा अनुसन्धान गरिने विषयलाई कन्ट्रोल समूह र ट्रेटमेन्ट समूहमा विभाजन गरिन्छ। ट्रेटमेन्ट समूहलाई बाह्य सहयोग पुर्याइएको हुन्छ भने कन्ट्रोल समूहलाई केही सहयोग गरिन्न। यी दुई समूहलाई केही समयपछि सहयोगको असर कति पयो भनेर अध्ययन गरिन्छ। यसले बाह्य सहयोगको प्रभावकारिता पत्ता लगाउन सजिलो हुन्छ।
आफ्नो अनुरोधमा बेनर्जी जोडी ५ वर्ष अघि नेपाल आएको स्मरण गर्दै डा. वाग्लेले भने, ‘उनीहरुले आरसिटी विधि र गरिब अर्थशास्त्र विषयमा नेपाल सरकारका मुख्यसचिव र सबै सचिवलाई जानकारी गराएका थिए। यसबाहेक उनीहरु इसिमोडले गरेका केही अध्ययनमा समेत सहभागी छन्।’उनीहरुको कामले सिद्धान्तलाई दैनिक जीवनसँग जोडेको वाग्लेले बताए। ‘शिक्षा, लघुवित्त, विकास र महिला सशक्तीकरणका क्षेत्रमा उनीहरुका अध्ययन उल्लेखनीय छन्’, वाग्लेले भने। परम्परागत कक्षागत शैक्षिक प्रणली असान्दर्भिक र अप्रभावकारी रहेको र यसलाई व्यक्तिको प्रतिभा अनुसार लग्नुपर्ने उनीहरुको अनुसन्धानबाट देखिएको छ।-नागरिक दैनिक
प्रतिक्रिया