असोज २६,
काठमाण्डौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिवसीय राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। उनी एयर चाइनाकाे विशेष विमानमार्फत् चीन फर्किएका हुन्। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले समकक्षी सीको बिदाइ गरिन्। बिदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीलगायत विशिष्ट पदाधिकारीहरु विमानस्थलमा पुगेका थिए।
राष्ट्रपति सीको बिदाइ तथा सम्मानमा नेपाली सेनाको एक टुकडीले 'गार्ड अफ अनर' प्रदान गरेकाे थियाे। राष्ट्रपति सी शनिबार साँझ भारतको चेन्नईबाट काठमाडौं आएका थिए। सीको नेपाल भ्रमणको अवसरमा नेपाल र चीनबीच २० वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। आज सोल्टी होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा समझदारी पत्रहरुको आदानप्रदान भएको थियो। नेपालको सरकार प्रमुख र चीनका राष्ट्राध्यक्ष तथा प्रतिनिधिमण्डलबीचको द्विपक्षीय वार्ता केहीबेरअघि सम्पन्न भएको छ। उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित विचारविमर्श भएको थियो। चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान गरेका छन्। प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार मन्त्री पनि उपस्थित थिए। यसका साथै वार्तामा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव, नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलगायत वरिष्ठ चिनियाँ अधिकारी सहभागी थिए। चिनियाँ राष्ट्रपति सीले नेपालको पहाडी तथा हिमाली क्षेत्रको विकासको लागि ५६ अर्ब रुपैयाँ आर्थिक सहायता चीनले उपलब्ध गराउने घोषणासमेत गरेका थिए।
चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई विभाजन गर्न खोज्ने जो–कोहीको प्रयासलाई विफल बनाइने बताएका छन् । आइतबार नेपालको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्कनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चीनलाई विभाजन गर्नका लागि सहयोग पुर्याइरहेका बाह्य शक्तिलाई पनि चिनियाँ जनताले निस्तेज पारिदिने बताएका हुन् । राष्ट्रपति सीको भनाइलाई समर्थन जनाउँदै प्रधानमन्त्री ओलीले नेपाल सदैव एक चीन नीतिप्रति कटिवद्ध रहेको र चीनको सार्वभौमिकता तथा भौगोलिक अखण्डता जोगाउन नेपालले दह्रोसँग समर्थन गर्ने जवाफ दिएका थिए । ओलीले नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि शक्तिलाई विभाजनकारी गतिविधि गर्न नदिने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।
प्रतिक्रिया