ताजा अपडेट »

रुपन्देहीमा कांग्रेसको मतगणनास्थलमा झडप, पौडेल पक्षका सचिवका उम्मेदवारसहित ५ घाइते

शनिबार, ०४ मंसिर २०७८

बुटवल । रुपन्देहीमा नेपाली काँग्रेसका कार्यकर्ताहरु बीच कुटाकुट हुँदा ५ जना घाइते भएका छन् । गृहमन्त्री बालकृष्ण खाँण निकटका कार्यकर्ताहरुले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्तालाई कुटपिट गरेका हुन् ।

काँग्रेसको १४ औ माहाधिवेशन अन्तर्गत प्रदेश निर्वाचन अन्तरगत सिद्धार्थनगरमा रहेको मतगणना स्थलमा आक्रमण हुँदा कम्तीमा ५ जना घाइते भएको प्रदेश ३ क का उम्मेद्वार पुरण श्रेष्ठले बताए । सिद्दार्थनगर नगरपालिका भैरहवामा मध्यराती मुख छोपेर आएका केही युवाहरुले आक्रमण गर्दा क्षेत्रीय सचिवका उम्मेदवार शैलेस पन्त गम्भीर घाइते भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

खाँण निकटका उम्मेद्वार मत परिणाममा हार्ने अवस्था आएपछि जेनेरेटर बन्द गराउँदै एक हुल युवाहरु मतगणाना स्थलमा प्रवेश गरेर आक्रमण सुरु गरेको श्रेष्ठले बताए । आक्रमणबाट समान्य घाइते भएका ४ जनाको भैरहवामा उपचार चलिरहेको छ । आक्रमण भएपछि मतगणाना स्थगित भएको छ । तरुणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङको नेतृत्वमा आक्रमण भएको पीडित पक्षकाले बताएका छन् । गृहमन्त्री खाँण पार्टी सभापति देउवा निकट मानिन्छन् ।