ताजा अपडेट »

नेपाल-चीन द्विपक्षीय बैठक सकियो, १५ समझदारीपत्रमा हस्ताक्षर हुँदै

आइतबार, २६ असोज २०७६

असोज २६,
काठमाण्डौं । नेपाल–चीन द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डलको बैठक सम्पन्‍न भएको छ। काठमाडौंको होटल सोल्टीमा बैठक सकिएसँगै अब १५ वटा विभिन्न सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओली र चीनको नेतृत्व चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेका थिए।

केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), नेपाल–चीन सुपुर्दगी सन्धि, काठमाडौंको टोखाबाट नुवाकोटको छहरे निस्कने सुरुङमार्ग, रसुवागढी–काठमाडौं सडक, किमाथाङ्का–हिले सडक, दिपायल–दक्षिण चीन जोड्ने सडक, टोखा–विदुर–नुवाकोट सडक, गल्छी–रसुवागढी–केरुङ विद्युत् प्रसारण लाइन, ७ सय ६२ मेगावाट क्षमताको तमोर हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्ट, फुकाट–कर्णाली हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्ट, मदन भण्डारी विश्वविद्यालय निर्माण, औद्योगिक पार्क निर्माणलगायत विषयमा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपतिले काठमाडौं आएकै दिन शनिबार केरुङ–काठामडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन र काठमाडौं–केरुङ सुरङमार्गको काम अघि बढाउने प्रतिबद्धता जनाइसकेका छन्। उनले शनिबार नै नेपाललाई सन् २०२० देखि २०२२ सम्म दुई वर्षको अवधिमा ५६ अर्ब रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणासमेत गरेका थिए।