ताजा अपडेट »

एमाले महाधिवेशन: लुम्बिनीबाट ७५ हजार सहभागी हुने

शुक्रबार, ०३ मंसिर २०७८

बुटवल । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)को आगामी १० देखि १२ गतेसम्म हुन लागेको १०औं महाधिवेशनका लागि एमाले लुम्बिनीले तयारीलाई तीब्र पारेको छ । एमाले लुम्बिनीले चितवनमा हुन लागेको महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी गराउने जनाएको छ ।

महाधिवेशन प्रचार–प्रसार समिति लुम्बिनीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशन र महाधिवेशनको तयारी बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले लुम्बिनीका अध्यक्ष लिला गिरीले महाधिवेशन भव्य रुपमा सम्पन्न गर्नका लागि तिव्र तयारी रहेको बताउँदै लुम्बिनीबाट ७५ हजार सहभागिता जनाउने योजना रहेको बताए । उनले चितवनमा गण्डकी प्रदेशको चितवनमा हुने महाधिवेशनमा लुम्बिनीका १२ वटै जिल्लाबाट ७५ हजार जना सहभागी गराउने योजना अनुरुप तयारी रहेको बताए । साथै रुपन्देही जिल्लाबाट मात्रै २२ हजार सहभागि हुने अध्यक्ष गिरीले बताए । 'महाधिवेशनका लागि लुम्बिनीका विभिन्न जिल्लाहरुमा तयारी भइरहेको छ । केन्द्रिय निर्देशनअनुसार प्रत्येक जिल्लामा एक गेट बनाउने भनिएपनि बुटवलमा एक वडा एक गेट बनाउँदै महाधिवेशनमा लुम्बिनी प्रदेशबाट उल्लेख्य सहभागिता हुने छ । त्यसको लागि ७५ हजारको सहभागिता गराउँदै छौं ।’ उनले भने ।

महाधिवेशन प्रचार–प्रसार विभाग लुम्बिनीका प्रमुख झपेन्द्र जि.सी.ले ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं,जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं ।’ भन्ने मूल नारासहित १०औं महाधिवेशन सम्पन्न हुन गइरहेको बताउँदै तयारी तिव्र रुपमा अगाडि बढेको बताए । उनले नेपालको संविधानलाई नै आधार बनाई जनताको बहुदलीय जनवाद र समाजवादको प्रत्याभूति गराउन एमालेलाई बलियो बनाई अगाडि बढ्न महाधिवेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । र,महाधिवेशन सफल बनाउन लुम्बिनीबाट उल्लेख्य र उत्साहजनक सहभागिता हुने जनाए ।

एमाले प्रचार–प्रसार विभाग केन्द्रिय सदस्य डि.आर.घिमिरेले रुपन्देहीमै चितवन महाधिवेशनको झल्को दिनेगरी तयारी रहेको बताए । उनले बुटवलका विभिन्न स्थलमा डिजिटल बोर्डको व्यवस्थापन तथा आकर्षक गेट निर्माण गरी पश्चिमबाट आउनेहरुको लागि बुटवलमै महाधिवेशनको झल्को गराउने तयारी रहेको बताए । महाधिवेशन र विधान महाधिवेशन गर्ने एमाले नेपालको पहिलो कम्यूनिष्ट पार्टी हो । १०औं महाधिवेशनलाई पनि भव्य र सभ्य बनाउँदै पार्टीलाइई बलियो बनाई समाजवादका आधार स्थापना गर्ने लक्ष्यका साथ तयारी रहेको छ । त्यसका लागि विभिन्न तयारी भएका छन् । देशभरबाट ५ लाख सहभागी गराइने महाधिवेशनमा रुपन्देहीको सहभागिता र भूमिका महत्वपूर्ण बनाउन पश्चिमतर्फ बुटवलमै महाधिवेशनको झल्को दिनेगरी तयारी गर्दैछौं । उनले भने । ’

प्रचार–प्रसार विभाग लुम्बिनीका सदस्य तथा पार्टी प्रचार–प्रसार रुपन्देहीका प्रमुख मोहन चापागाइँले यस पटकको महाधिवेशनलाई डिजिटलाइजेशन बनाउने जोड दिइएको बताए। ‘परिवर्तनसँगै पुरानाशैलीलाई हटाउँदै समय सापेक्ष डिजिटल यूगमा प्रवेश गरेको सन्देश दिनका लागि एमाले महाधिवेशनलाई डिजिटलाइजेशन बनाउँदैछ । इभोटिङ प्रणालीसँगै प्रचारका शैलीहरुमा पनि परिवर्तन गरेका छौं । विगतमा जस्तो पम्प्लेट टाँस गर्ने , भित्तामा पेण्ट गर्ने कार्यलाई यसपाली निरुत्साहित गरी डिजिटल बोर्ड तथा माध्यमबाट प्रचार–प्रसार र सूचना प्रेषित गर्दैछौं । महाधिवेशनको तयारी,उद्देश्य र प्राप्तिहरु प्रविधिका प्रयोगबाट प्रभावकारी ढङ्गबाट लाखौं कम्यूनिष्ट तथा जनताहरुमा पुर्याउँदै छौं ।’ उनले भने ।

पत्रकार सम्मेलनमा महाधिवेशन प्रचार–प्रसार लुम्बिनीका सदस्य शेरबहादुर केसी,प्रेस चौतारी नेपालका सचिव भरत केसी, प्रेस चौतारी लुम्बिनीका उपाध्यक्ष प्रदिप आचार्य, प्रेस चौतारी लुम्बिनीका सचिव अमृत गिरी लगाएतको सहभागिता रहेको थियो ।