ताजा अपडेट »

करिब ८ करोड लगानीमा मैनाबगर अटो ल्याण्ड

विहीबार, ०२ मंसिर २०७८

बुटवल । नेपालकै नमूना अटो भिलेज,बुटवल–२ मैनाबगरमा मैनाबगर अटो ल्याण्ड प्रा.लि.को शुभारम्भ भएको छ । बुटवलका ४ जना मिलेर करिब ८ करोड लागतमा सञ्चालनमा आएको उक्त अटो ल्याण्डको बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री, श्रम तथा यातायात मन्त्री, भारतीय सवारी निर्माण कम्पनी अग्नी गु्रपका कार्यकारी निर्देशक लगाएतले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अटोका क्षेत्रमा लुम्बिनी प्रदेश अगाडि रहेको बताउँदै व्यवस्थापन र प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । उनले स्वदेशमै रोजगार सिर्जना गर्ने अटो क्षेत्रको विकासका लागि प्रदेश सरकारले बनाउनु पर्ने योजना र गर्नुपर्ने भूमिकाका लागि सहकार्य गर्न आवश्यक रहेको उल्लेख गर्दै अटो व्यवसायीका हितमा काम गर्ने जनाए ।

त्यसैगरी श्रम तथा यातायात मन्त्री पुर्मती ढेँगाले यातायात क्षेत्रमा विकास र वृद्धि भएको बताउँदै व्यवस्थित बनाउन विभिन्न पहल भएको जानकारी गराइन् । उनले बुटवल लगाएत लुम्बिनीकै यातायातलाई सहज र व्यवस्थित बनाउन मनत्रालय सक्रिय रुपमा लागेको बताइन् । उनले अटो ल्याण्डको सफलताको कामना गर्दै गुणस्तरमा जोड दिन समेत आग्रह गरिन् । साथै मन्त्री ढेँगाले अटो श्रमजीवीहरुलाई दक्ष बनाउनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताइन् ।

मैनाबगर अटोल्याण्डका अध्यक्ष सुदन ज्ञवालीले भाडाका सवारी धनिको मर्काललाई बुझेर २४ घन्टा सर्भिस दिनेगरी योजना बनाएको बताएका थिए ।कम्पनीलाई सातै प्रदेशमा बिस्तार गर्ने उद्देश्य रहेको बताउँदै कम्पनीलाई प्रालिबाट पब्लिकमा लैजानेदेखि मैनाबगरको अटो भिलेजलाई स्थायी रुपमा अटो हबमा परिणत गरि पूर्वाधार विकासमा लगानी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

सञ्चालित उक्त अटो ल्याण्डमा ८ करोड लगानी र ४० जना भन्दा बढी रोजगाररत रहेको अध्यक्ष ज्ञवालीले बताए । अटो ल्याण्डमा महेन्द्र कम्पनीका सबै किसिमका गाडीहरुको मर्मत तथा डेन्टिङ–पेन्टिङका काम गरिने उनले बताए । अर्का सञ्चालक अभिमन्यू पोख्रेलले अटो क्षेत्रको माग र महत्वलाई मध्यनजर गर्दै व्यवस्थित तथा आधुनिक अटो ल्याण्डका रुपमा मैनाबगर अटो ल्याण्ड सञ्चालनमा ल्याएको बताए । अटो ल्याण्ड सुदन ज्ञवाली, अभिमन्यू पोख्रेल, नवराज सुवेदी र विष्णुप्रसाद पाण्डेको संयुक्त लगानी रहेको छ ।

उद्घाटन कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का दधिराम खरेल , लगाएतले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिँदै अटो ल्याण्डको सफलताको कामना गरेका थिए । अटो ल्याण्डको उद्घाटन समारोहमा आफ्नै पौरखले कार निर्माण गरेका बुटवलका युवा अंकित रसाइलीलाई सम्मान गरिएको छ । उनलाई लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले माला लगाई सम्मान गरेका थिए भने अटो ल्याण्डको तर्फबाट नगद रु १० हजार प्रदान गरिएको छ ।