ताजा अपडेट »

हिमालय वारिपारिको मैत्री नयाँ उचाइमा पुगोस्

शुक्रबार, २४ असोज २०७६

नेपालीहरुको महान पर्व विजयादशमीको माहौलसँगै यतिबेला नेपालमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको माहौलपनि निकै गरमागरम भएको छ । दशैंमा घर–आँगन सफा गर्ने रङ्गाउने,सजाउने कार्य अन्य वर्षभरका दिनमा भन्दा बढी हुुन्छ । त्यसरी नै चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा मुलुकको संघीय राजधानी काठमाण्डौंमा पनि सरसफाई,रङ्गरोगनदेखि पार्क निर्माण र सजावटका कामहरु भइरहेका छन् । हाम्रो पुुस्ताले सामाजिक शिक्षामा अध्ययन गर्दै आएको‘नेपाल दुई ढुङ्गा बीचको तरुल’ अर्थात दुई ठूला ढूङ्गा भारत र चीन मध्ये असोज २५ गते शनिबार चीनका राष्ट्रपति जिनपिङ नेपाल आउँदैछन् ।

छिमेकी राष्ट्र अर्थात् निकै निकटतम भएर पनि त्यहाँका प्रमुख नेपाल आउँदा निकै महत्व,चासो र तयारी किन ? पक्कैपनि सिमाना जोडिएको एक देशका प्रमुख अर्को देश आउनुु सामान्य नै हो । तरपनि नेपालमा चीन र त्यहाँका प्रमुख आउनु ऐतिहासिक तथा ठूलो सफलता र उपलब्धि मानिनेछ । छिमेकी राष्ट्रभन्दा पनि विश्वकै शक्तिशाली राष्ट्रहरु मध्ये एक शक्तिशाली विकसित र समृद्ध राष्ट्रको रुपमा स्थापित राष्ट्र हो चीन । तसर्थ पनि नेपाल जस्तो भौगोलिक क्षेत्रफलले सानो (चीन भन्दा करिब ६५ गुणाले सानो) ,विकासोन्मुख राष्ट्रका लागि त्यहाँका राष्ट्रप्रमुखको भ्रमण अति महत्व,सम्मान र प्राथमिकताका साथ हेरिने प्रचलन नै छ । त्यसमा पनि चीनको उच्च पदस्थ यो भ्रमण २ दशकभन्दा पछाडिको हो ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा जिनपिङ्ग मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमणमा आउँदैछन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणका क्रममा नेपालले रेल, सुरुङ र ट्रान्समिसन लाइनलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको खबरहरु सार्वजनिक भएका छन् । तर, ति सवै प्रस्ताव बारे चीनिया पक्ष चर्को ब्याजदरको ऋण उपलब्ध गराउने पक्षमा छ । सरकार यो उच्च भ्रमणबाट अधिकतम राजनीतिक लाभ लिने तयारीमा जुटेको छ । काठमाडौं–केरुङ रेलमार्गबारे पनि यस अघिको दर्जनौ पटकको सहमति र सम्झौता भन्दा फरक घोषणा गर्नै पर्ने बाध्यतामा पुगेको चीनले काठमाडौं–केरुङ रेलमार्गबारे शिघ्र काठमाडौं–केरुङ स्थलमार्ग निर्माण गर्ने पक्षमा पुगेको अनुमान गर्न सकिन्छ । अफ्रिकी देशहरु जसले चीनको आर्थिक सहयोगमा पूर्वाधार विकास गर्ने प्रयास गरे ति देशरु यतिबेला चर्को चीनिया ब्याजदरको कारण टाट उल्टिने अवस्थामा पुगेको समाचार सार्वजनिक भैरहेका छन् । दक्षिण एशियाका देशहरु श्रीलंका, पाकिस्तान र माल्दिभ्सको उदाहरणबाट नेपाल सचेत बन्न आवश्यक छ ।

एशियाका दुई महाशक्तिलाई नियाल्ने भूराजनीतिको केन्द्र नेपाललाई आजको पश्चिमले दिदैं आएको सहयोग र राख्दै आएको चासो त्यतिबेला पश्चिमाहरुका लागि मूल्यहिन हुनसक्छ । महेन्द्र, बीपी, बीरेन्द्र, गिरीजा, ज्ञानेन्द्र हुँदै केपी ओलीसम्म काठमाडौं–केरुङ स्थलमार्ग निर्माणको आश्वासन दिएको चीनले आफूूले प्राप्त गरेको तिब्बतको दमनका लागि नेपालको उपयोग गर्दै आएको र भारतसँगको ब्यापारको लागि भारतीय सीमाबाट दुई घण्टामै काठमाडौं पुग्ने फास्ट ट्रयाक र रेल मार्ग धमाधम बनाउन थालिएको बुझेर पनि यस पटक अनुदान सहयोगमा काठमाडौं–केरुङ स्थलमार्ग निर्माण द्रुत गतिमा निर्माण गर्ने सम्झौताको लागि चीन तयार भएको हुन सक्छ । तर आयात ब्यापार न्यून भएको नेपाललाई रेलको मोहजालमा महँगो ऋण लिन बाध्य पार्न पनि काठमाडौं–केरुङ स्थलमार्ग निर्माण द्रुत गतिमा निर्माण गर्ने पासोमा फसाउन चीन तयार भएको हुन सक्छ । नेपालले सम्झौता गर्नु अघि हेक्का राख्नु पर्छ उसका छिमेकी मध्य उत्तर कोरिया बाहेक चीनको कसैसँग पनि सम्बन्ध राम्रो र दिर्घायु हुन सकेको छैन ।आईपीएसलाई सन्तुलन गर्न बीआरआईलाई अगाडि बढाएको चीनले नेपालको सम्बन्ध राम्रो भएको र नेपालका विकासका साझेदार भारत, जापान, युरोपेली देश र अमेरिकासँगको सम्बन्ध न्यून गर्न पनि चीनले नेपाललाई पछिल्लो समय महत्व दिएको हो ।

न्यून निर्यात भएको चीनसँग रेलमार्ग निर्माणमा लाग्ने करिब तीन खर्ब रुपैयाँको ऋण लगानीले नेपाललाई भोलिका दिनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा गम्भिर रुपमा सोँच्न आवश्यक छ । चीनका राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमण नेपालीका लागि निकै गौरवको बिषय हो । परापूर्वकालदेखि नै नेपाल चीनको सम्बन्ध निकै घनिष्ट छ । नेपालको एक चीन नीतिले हाम्रो शीर झुक्न पाएको छैन । शनिबारदेखि हुने चिनिया राष्ट्रपतिको भ्रमणप्रति हामी कुनै कोणबाट बिमति राख्नुुपर्ने देखिदैंन । २३ वर्षपछि चीनले नेपाललाई थोरै भएपनि महत्व दिएको यथार्थ भने पक्कै हो । पहिलो पटक नेपाल भ्रमणका लागि आउँदै गरेका जिनपिङले आफ्नो भ्रमणबाट दुई देशको मैत्रिपूर्ण सम्बन्धमा विकास र आगामी दिनमा सहकार्य बढ्ने बताएका छन् ।

यता नेपालले भने चीनबाट मैत्रिपूर्ण भन्दापनि आर्थिक सहयोगको अपेक्षा बढी राखेको छ । ठूला देशबाट सधैं आर्थिक सहयोगको अपेक्षा राख्दै भ्रमणमा लगानी र गर्व गर्नुभन्दापनि ति देशसँग व्यापारिक,आर्थिक सम्बन्सँगै विकास र समृद्धिका विषयमा सहकार्य र प्रतिष्पर्धा गर्न सक्नु पर्दछ । सदैव ठूला राष्ट्रसँग हात थाप्ने प्रचलनलाई तोड्दै सार्वभौमसत्ता राष्ट्रले स्वाभिमान पनि बचाउन आवश्यक छ । यद्यपि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण महत्वपूर्ण रहेको छ । यसको सफलता , प्रभावकारिता र आगामी दिनमा देखिने नतिजा सकारात्मक हुने अभियानका साथ भ्रमण सफल बनोस् । र, चीनका राष्ट्रपतिले नै भनेजस्तो गरी हिमाल वारी र पारीका दुई देशबीचको सम्बन्ध,सहकार्य र अस्तित्वले नयाँ उचाई लिओस् ।