ताजा अपडेट »

पर्यटक भिसा खुल्ला गरेको दश दिनमा साउदीमा २४ हजार पर्यटक

विहीबार, २३ असोज २०७६

असोज २३,

रियाद। पर्यटक भिसामा सरलीकरण गरी पर्यटक भिसा जारी गर्न थालेपछि दश दिनको अवधिमा २४ हजार पर्यटकले साउदी अरेबियाको भ्रमण गरेको साउदी सरकारी टेलिभिजनले जनाएको छ। साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा पर्यटक भिसा दिने नीति ल्याउन लागेको घोषणा गरेको थियो। साउदी अरेबियाले पहिलो पटक विदेशी अविवाहित महिलाले पनि होटलमा कोठा लिन पाउने गरी आइतबार नयाँ व्यवस्था घोषणा गरेको थियो। कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएको साउदी अरेबियाले पछिल्लो समय महिलाका सन्दर्भमा खुकुला नियमहरु अपनाउन थालेको छ।

तेलका कारण समृद्ध साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले अर्थतन्त्रलाई विविधिकरण गर्ने उपायस्वरुप पर्यटन प्रबर्द्धनलाई अघि सारेका थिए। साउदी अरेबियाको पर्यटन विभागले एक विज्ञप्ति प्रकाशन गरी एकल भ्रमणमा निस्केका साउदी महिलाले पनि वैधानिक परिचयपत्रका आधारमा यो सुविधा उपभोग गर्न पाउने बताएको छ। विगतमा होटलमा बस्न चाहने दम्पतीले पनि विवाहित रहेको कागजात होटल समक्ष प्रस्तुत गर्नुपर्ने नियम थियो। “पर्यटकका लागि यो अबदेखि आवश्यक पर्ने छैन,” विज्ञप्तिमा भनिएको छ। साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा मुलुकका केही कानुनमा सुधार गरी पर्यटन प्रबर्द्धनमुखी नीतिहरु अघि ल्याउने घोषणा गरेको थियो।

साउदी अरेबियाले विगतमा मुस्लिम तिर्थयात्री, विदेशी कामदार र खेलकूद वा सांस्कृतिक कार्यक्रमका दर्शकका लागि मात्र भिसा जारी गर्ने गरेको थियो। संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया र धेरैजसो युरोपेली युनियनमा आबद्ध समेत ४९ मुलुकका नागरिकले अनलाइन ई–भिसा लिन वा आगमनकै क्षण भिसा लिन पाउने नयाँ नियम पनि सार्वजनिक गरिएको छ तर सेप्टेम्बर २८ मा गरिएको एक आदेशमा विदेशीले पोशाक लगाउँदा मुस्लिम शरिया कानुन विपरीतका पोशाक वा वेशभुषा लगाउन नपाउने र लगाएको पाइए जरिवाना गर्ने नियम अघि सारेको छ।- -रासस/एएफपी