असोज २३,
क्यानबेरा । भनिन्छ, 'सुखद नतिजाको अपेक्षा गरौं, खराब नतिजाका लागि पनि तयार रहौं ।’ नेपाली राष्ट्रिय फुटबल टोलीले आज अष्ट्रेलियाको सामना गर्दा सायद यहि पंक्ति बढी सान्दर्भिक हुन सक्छ । नेपाली एक महिनाअघि कुवेतसँग ७-० ले हारेपछि धेरैलाई लागेको थियो, विश्व कप छनोटमा हाम्रो यात्रा लज्जास्पद हुन सक्छ । तर, ५ दिनको फरकमा टोली सम्हालियो ।
भदौ १९ गते फराकिलो हारले स्तब्ध भएको नेपाली टोलीले चाइनिज ताइपेलाई उसै मैदानमा २–० को जित निकालेको थियो । न त नेपालसँग कुवेतको त्यति फराकिलो हार होला भन्ने थियो । न कुवेतसँगको त्यो हारपछि टोलीले चाइनिज ताइपेमाथि त्यो रवाफ देखाउँछ भन्ने थियो । फुटबल हो, सबै खाले नतिजा सम्भव छ । सायद, नेपाली फुटबलको इतिहासमा अष्ट्रेलियाविरुद्ध आज हुने खेल सायद लामो समय चर्चाको विषय बन्न सक्छ । नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । फुटबल इतिहास हेर्दा नेपाल र अष्ट्रेलियाको कहि कतै तुलना गर्न मिल्दैन । छनोटकै प्रदर्शन र इतिहास हेर्ने हो भने अष्ट्रेलियाले नेपाललाई हराउने लगभग निश्चित छ । अष्ट्रेलिया टोलीका अधिकांश सदस्य युरोपमा व्यवसायिक फुटबल खेल्छन् । यता नेपाली टोलीका ३ खेलाडी गोलकिपर एवंम कप्तान किरण चेम्जोङ, रोहित चन्द र विमल घर्तिमगरसँग मात्र विदेशी क्लबमा खेलेको अनुभव छ । तर, फुटबल हो अन्तिम सिठ्ठी नबझ्दा सम्म पनि आशा र सम्भावना रहन्छ । नेपाललाई फराकिलो हार चखाउने कुवेतलाई अष्ट्रेलियाले ३-० ले हराइसकेको छ । जोर्डन पनि रहेको समूहमा अष्ट्रेलिया सबैभन्दा बलियो टोली हो । फिफा वरियतामा अष्ट्रेलिया ४४ औं स्थानमा छ भने नेपाल १ सय ६१ औं ।
सबै परिस्थिति नियालेका नेपाली टोलीका प्रशिक्षक योहान कालिनले यसैले जित बराबरी भन्दा पनि अप्रत्याशित नतिजाको आशा सम्म राखेका छन् । नेपाली टोलीमाथि मानसिक दबाब पक्कै रहन्छ । बलियो टोली र त्यसमाथि उसकै मैदान , सहज पक्कै हुने छैन । नेपाली टोलीको मनोबल बढाउने एउटा पक्ष भने अष्ट्रेलियामा रहेका नेपालीले टोलीलाई दिने साथ हो । अर्को पक्ष नेपालले खेलका लागि अष्ट्रेलियामै पुगेर एक साता लामो बन्द प्रशिक्षण पनि हो । अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालविरुद्ध आक्रामक खेल्ने र बढी भन्दा बढी गोल गर्ने योजनाले पनि नेपाली टोलीमाथि दबाब दिने प्रयास गरेका छन् । त्यो रणनीति अस्वभाविक होइन । अष्ट्रेलियालाई नेपालविरुद्ध आक्रमण गर्न जति चुनौति छ त्यो भन्दा निकै गुणा चुनौति नेपाली टोलीलाई उनीहरुलाई रोक्नुमा छ । नेपालले फुटबलमा सबै खाले नतिजाको आत्मसात गरिसकेको छ । सन् २००३ मा दक्षिण कोरियासँग १६-० को अहिले सम्मकै ठूलो हार बेहोरेको इतिहास छ । अर्को सन् २०११ मा विश्व कप छनोटमै जोर्डनसँग ९-० को हार बेहोरेको ५ दिन पछि त्यहि टोलीसँग १–१ को बराबरी खेलेको पनि इतिहास छ । नेपाली फुटबलका लागि आज अर्को इतिहास बन्ने क्रममा छ । आशा गरौं इतिहास नेपालकै पक्षमा बनोस् ।- सुबास हुमागाईं/ हाम्रो खेलकूद
प्रतिक्रिया