असोज २२ ,
काठमाडौं । ओमानमा जारी पेन्टाङ्गुलर सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ । पहिलो दुई म्याचमा लगातार जीत हासिल गरेको नेपाल आयरल्यान्डसँग १३ रनले स्तब्ध भएको हो ।आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३२ रनमा अलआउट भयो । एक समय नेपाल निकै सुदृढ अवस्थामा थियो । १० ओभरसम्म एक विकेट मात्र गुमाएर ७३ रन जोड्दा नेपालको जीत लगभग पक्का भइसकेको थियो । तर, लगातार ३ विकेट गुमाएपछि नेपालको ब्याटिङ धराशयी भयो ।
नेपालका लागि कप्तान पारस खड्काले आक्रमक सुरुवात गरेका थिए । उनले १४ बलमा २ छक्का र २ चौकाको मद्दतले २५ रन जोडे । उनले इशान पाण्डेसँग ४.१ ओभरमा ३५ रनको साझेदारी गरे । इशान पाण्डेले ३० बलमा २२ रन बनाए । उनले २ चौका प्रहार गरेका थिए । त्यसपछि आरिफ शेख र दिपेन्द्र सिंह ऐरीबीच २७ रनको साझेदारी भयो । दुवैले सुझवुझपूर्ण ब्याटिङ गरिरहँदा १४ औं ओभरमा निर्णायक मोड आयो ।
सो ओभरको अन्तिम बल र १५ औं ओभरको पहिलो दुई बलमा नेपालले लगातार विकेट गुमायो । त्यसपछि धराशयी बनेको नेपाल फेरि बौरिन सकेन ।आरिफले २६ बलमा २६ र दिपेन्द्रले २० बलमा १९ रन बनाए । त्यसपछि आएका ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।नेपाललाई अन्तिम ओभरमा २५ रन चाहिएको थियो ।
प्रतिक्रिया