ताजा अपडेट »

विजयादशमी सुखद बनोस्

सोमबार, २० असोज २०७६

हिन्दु धर्मावलम्बी नेपालीहरुको महान पर्व बडादशैंको माहौल निकै बढेको छ । गत १२ गते आइतबार घटस्थापनासँगै यस वर्षको बडादशैंको सुरुवात भएको हो । २१ गते मंगलबार यस वर्षको विजयादशमी परेको छ । दशैं, बडादशैं, बिजयादशमी जस्ता नामले चिनिने यो पर्व हिन्दु धर्मालम्बीहरु मात्र नभई नेपालकै मुख्य र ठूलो पर्व हो । नेपाली पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन पूजा–पाठ,व्रत र उत्सवका साथ मनाइने पर्व भएको हुनाले यस पर्वलाई दशैं वा विजयादशमी भनिएको हो । सबै पर्वहरु मध्ये अत्यधिक समय अर्थात् लामो समयसम्म मनाइने पर्वका रुपमा पनि यो पर्वको महत्व रहेको छ । विजयादशमी दश दिनदेखि १५ दिनसम्म पनि मनाउने परम्परा रहेको छ । कुनै स्थानमा वा केही हिन्दु धर्मावलम्बीहरुले दशैंको टिका पूर्णिमासम्म पनि लगाउने गर्दछन् । तर,विशेषगरी १० दिनसम्म मनाइने यो पर्वको पहिलो ९ दिनलाई नवरात्री र १०औं दिनलाई दशमी भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई र भगवान रामचन्द्रले रावणलाई वध गरेर मानव जातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा, सप्तमी (फुलपाती), महाअष्टमी (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथि हुन् ।

दशैंका दशैं दिन विशेष हुन्छन् । घटस्थापनादेखि (जमरा राख्ने दिन) देखि दशमी (टिका लागउने) दिनसम्म प्रत्येक दिन फरक–फरक देवी–देवताको पूजा–अर्चना गरिन्छ । यी दिनहरुमा मानिसहरु आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजा गर्नुका साथै बली दिन्छन् शाकाहारीहरुले कुभिण्डो, नरिवल, केरा, घिरौंला आदि फल अर्पण गर्दछन् भने मांसाहारीले कुखुरा, परेवा, बोका, पाडा आदि पंक्षी तथा जनावरको बली दिने गर्दछन् । असत्यमाथी सत्य र दानवमाथि देवताको विजयको प्रतिकको रुपमा मनाइने यस पर्वमा हुने पशु बलीको विषयमा निकै बहस हुने गर्दछ । तर, प्राचिन र परम्परागत यस पर्वको धार्मिक महत्वका कारण यो पर्वलाई परमपरागत महत्वका साथ मान्यता दिई मनाइने गरिन्छ । हिन्दुहरुको प्रमुख र महान पर्व मानिदै आएको यस पर्व पछिल्ला वर्षहरुमा भने सबै नेपालीको साझा पर्व बनेको छ । अर्थात् अहिले दशैं नेपालमा रहने अन्य धर्मावलम्बीहरुको पनि महत्वको पर्व बनेको छ। परम्परा र धार्मिक महत्वको यस पर्व ले नेपालीहरुको सामाजिक,सांस्कृतिक र आर्थिक पक्षलाई पनि प्रभाव पार्दै आएको छ । धेरै दिन र विशेष महत्वका साथ मनाइने यस पर्वको मुख्य विशेषता आफूभन्दा ठूलाबडासँग टिका र आशिर्वाद ग्रहण गर्नु हो ।

आफूभन्दा ठूला र अग्रजहरुलाई सम्मान गर्ने र उनीहरुबाट आशिर्वाद ग्रहण गर्ने नेपाली सांस्कृतिलाई यस पर्वले शसक्त रुपमा उजागर गर्दै आएको छ । वैदिक सनातन धर्म अनुसार विशेषगरी जीवनको उत्तरार्धमा रहेका वृद्धवृद्धाहरुको हातबाट टिका र मुखार्विन्दबाट आशिर्वाद प्राप्त गर्नु विशेष मानिन्छ । आफन्त इष्टमित्र र टाढा रहेका परिवारका सदस्यहरु एक हुने विशेष दिनका रुपमा पनि यस पर्वलाई लिन सकिन्छ । धार्मिक र परम्परागत विशेष महत्वको यस पर्व पछिल्लो समयमा खर्चिलो, भड्किलो र हिंसात्मक बन्दै गएको छ । धार्मिक मान्यता र व्यवहारमा भन्दा पनि हैसियत मापन र प्रदर्शनको अवसरका रुपमा धेरै खर्च गरेर, पशु हत्या गरेर मनाउने बढ्दो खर्चिलो र महङ्गो बन्दै गएको छ । पर्वको नाममा खर्च र प्रदर्शन गरेर भन्दा पनि सरलताका साथ मनाउनु नै पर्वको मौलिकता ,निरन्तरता र महत्व कायम राख्नु हो । तसर्थ हुनेको र नहुनेको सबैको साझा पर्व बनाई सद्भाव,आत्मियता र हर्षोल्लासका साथ विजयादशमी–२०७६ सफल रहोस् । यस वर्षको विजयादशमी सम्पूर्ण नेपालीहरुको खुशीको दशैं बनोस् । साथै यस अवसरमा हाम्रा पाठकवृन्द,विज्ञापनदाता ,कर्मचारी,शुभेच्छुक लगाएत सम्पूर्ण नेपालीहरुमा बडा दशैं २०७६को अवसरमा हार्दिक शुभकामना ।