ताजा अपडेट »

रुपन्देही व्यापार संघद्वारा डिभाइडरका बगैँचा उपमहानगरलाई हस्तान्तरण

आइतबार, २८ कार्तिक २०७८

बुटवल । रुपन्देही व्यापार संघले आफ्नो २१ औं स्थापना दिवशको अवसरमा सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल नगरमा निमार्ण गरिएको हरियालीसहितको डिभाइडर बँगैचा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

संघले आइतवार एक कार्यक्रमको आयोजना गरि बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आर्चायलाई निर्माण सम्पन्न भएको डिभाइडरको चावी हस्तान्तरण गरेको हो । बुटवल उपमहानगरपालिकाको डिजाइनमा निमार्ण गरिएको १ सय २० मिटरको डिभाइडरमा सो अवसरमा वृक्षारोपण समेत गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमेयर आर्चायले नगरको विकासमा नीजि क्षेत्रको सहकार्यमा धेरै योजनाहरु सञ्चालन गरिएको बताउँदै नगरलाई हरियाली र स्वच्छ राख्न सबै नगरवासीहरुलाई आग्रह गरे । आर्चायले बुटवल राजमार्गचौराहाबाट चिडिया खोलासम्मको वाटो निर्माण नगरेर केन्द्रीय सरकारले स्थानिय सरकारको बदनाम गर्ने काम गरेको भन्दै आफुहरु अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गर्न असर्मथ भएका कारण दोष मात्र खेप्नु परेको गुनासो गरे ।

उनले नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुसंग स्थानिय सरकार सधै सहकार्यमा अगाडी बढ्दै आएको स्मरण गराउँदै कुनै पनि समस्या भएमा आपसी छलफल गरि समाधान गर्न अग्रसर हुने प्रतिवद्धता व्यक्त गरे । संघका पूर्व अध्यक्ष मोतिलाल पाण्डेले रुपन्देही व्यापार संघ निश्चित मान्यता, लक्ष्य र उद्देश्यका लागि स्थापना भएको उल्लेख गर्दै त्यसका गतिविधिहरु पनि त्यसै अनुसार हुनु पर्ने धारणा राखे ।

संघका अर्का पूर्व अध्यक्ष टंक प्रसाद पोखरेलले व्यवसायीक हितका लागि आगामी दिनमा छुट्टै प्रकारले कार्यक्रम अगाडी ल्याउनु पर्ने सुझाव दिए। संघका अध्यक्ष यमलाल लोहनीले संघको २१ औं स्थापना दिवशका अवसरमा संघलाई थप व्यवस्थित र सक्रिय बनाउने प्रेरणा प्रदान गर्ने बताउँदै संघ आफ्नो उद्देश्य र लक्ष्यमा सधै कटिबद्ध भएर अगाडी बढ्ने धारणा राखे ।

उनले नीजि क्षेत्रका व्यवसायीहरुको हकहितका लागि आवश्यक रणनीति बनाएर संघले स्थानिय सरकारसंगको सहकार्यलाई अझ बलियो बनाउँदै जाने भनाई राखे । संघका महासचिव दयानीधि भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न प्रकारका फुलका विरुवाहरु रोपिएको थियो ।