ताजा अपडेट »

विश्वकप उपाधिका लागि न्यूजील्याण्ड र अस्ट्रेलियाको भिडन्त आज, कसले जित्ला उपाधि ?

आइतबार, २८ कार्तिक २०७८

काठमाडौँ । आइसीसी टी-२० विश्वकपको आज फाइनल खेल हुदै छ । विश्वकपको उपाधिका लागि आज न्यूजील्याण्ड र अस्ट्रेलियाले प्रतिष्पर्धा गर्दै छन् । खेल नेपाली समय अनुसार राति ७:४५ बजे शुरु हुने छ ।न्यूजील्याण्ड पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ भने अस्ट्रेलिया योसहित दोस्रो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको हो । अस्ट्रेलिया यसअघि २०१० मा वेस्टइन्डिजमा आयोजित टी-२० विश्वकपको फाइनलमा ईङल्याण्डसँग पराजित भएको थियो ।

यस विश्वकपको फाइनल खेल्ने यी दुई टोलीका केहि समानता यस विश्वकप देखिएका छन् । दुवै आ-आफ्नो समुहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेका थिए भने दुवैले सेमिफाइनलमा आआफ्ना प्रतिद्वन्दीलाई रन चेज गर्दै ५-५ विकेटले पराजित गरेका थिए । अझ रोचक कुरा दुवैले १९ ओभरमा आफ्नो लक्ष्य पुरा गरेका थिए । यस विश्वकपमा न्यूजील्याण्डले सेमिफाइनलमा इङल्याण्डलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यसअघि सुपर १२ को समुह २ मा न्यूजील्याण्डले ५ मध्ये ४ खेल जितेर समुहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको थियो । 

फाइनल खेलमा न्यूजील्याण्डका लागि मार्टिन गप्टिल, कप्तान केन विलियम्सन, ट्रेन्ट बोल्ट, इश सोढ़ीको खेल महत्वपूर्ण हुने छ । त्यस्तै सेमिफाइनलमा शानदार प्रदर्शन गरेका डार्यल मिचेल र जिम्मी नीशामप्रति पनि सबैको नजर हुने छ ।न्यूजील्याण्डका लागि यस विश्वकपमा डार्यल मिचेलले सर्बाधिक १९७ रन बनाएका छन् भने  गप्टिलले १८० रन बनाएका छन् । त्यस्तै कप्तान विलियम्सनले १३१ रन बनाएका छन् । त्यस्तै ट्रेन्ट बोल्टले सर्बाधिक ११ विकेट लिएका छन् भने सोढ़ीले ९ र टिम साउथीले ८  विकेट लिएका छन् । फाइनल खेलमा इन्जुरिका कारण न्यूजिल्याण्डले डेभोन कोनवेलाई गुमाउने भएको छ । 

त्यस्तै अस्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेर फाइनलमा पुगेको हो । यसअघि सुपर १२ को समुह १ मा अस्ट्रेलिया दोस्रो हुदै सेमिफाइनलमा पुगेको थियो । फाइनल खेलमा अस्ट्रेलियाका लागि ब्याट्सम्यान डेविड वार्नर, मार्कस स्टोइनिस तथा बलर एडम जाम्पाको भूमिका महत्वपूर्ण हुने देखिन्छ । 

अस्ट्रेलियाका लागि यस विश्वकपमा डेविड वार्नरले सर्बाधिक २३६ रन बनाएका छन् भने कप्तान एरोन फिंचले १३० रन बनाएका छन् । त्यस्तै बलर एडम जाम्पाले १२ विकेट लिएका छन् । यस विश्वकपमा धेरै विकेट लिए बलरको सूचीमा जाम्पा दोस्रो स्थानमा रहेका छन् । त्यस्तै मिचेल स्टार्कले ९ र जोस हजेलवूडले ८ विकेट लिएका छन् ।

समग्रमा यस विश्वकपमा टस जित्ने टिमले खेल जितेको देखिएकाले टस महत्वपूर्ण हुने देखिन्छ । फाइनलसम्मको यात्राका क्रममा दुवै टिमले उत्कृष्ट क्रिकेट खेलेका छन् । दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने यस खेल पनि सेमिफाइनलका जस्तै रोमान्चक हुने कुरामा दुई मत छैन तर विश्वकपको उपाधि कसले जित्छ भन्ने कुरा अहिले नै यकिन गर्न भने मुश्किल रहेको छ ।

यसअघिका टी-२० विश्वकपको फाइनलमा को को खेले ?

टी-२० क्रिकेटको विश्वकप २००७ मा पहिलो पटक आयोजना गरिएको थियो । दक्षिण अफ्रीकामा आयोजना गरिएको पहिलो विश्वकप महेन्द्रसिंह धोनीको नेतृत्वमा भारतले जितेको थियो । भारतले फाइनलमा पाकिस्तानलाई ५ रनले पराजित गरेको थियो ।त्यसपछि २००९ मा इङल्याण्डमा आयोजित दोस्रो टी-२० विश्वकप पाकिस्तानले जितेको थियो । पाकिस्तानले फाइनलमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो ।

त्यस्तै २०१० मा वेस्टइन्डिजमा आयोजित टी-२० विश्वकपको उपाधि ईङल्याण्डले जितेको थियो । ईङल्याण्डले फाइनलमा अस्ट्रेलियालाई ७ विकेटले पराजित गरेको थियो ।त्यसपछि २०१२ मा श्रीलंकामा आयोजित चौथो टी-२० विश्वकप वेस्टइन्डिजले जितेको थियो । वेस्टइन्डिजले यस विश्वकपमा आयोजक श्रीलंकालाई ३६ रनले पराजित गरेर उपाधि जितेको थियो ।अहिले दुइ पटक टी-२० विश्वकप जित्ने एक मात्र टिम वेस्टइन्डिज हो । वेस्टइन्डिजले २०१२ र २०१६ को विश्वकप जितेको थियो । २०१६ मा भारतमा आयोजित विश्वकपमा वेस्टइन्डिजले फाइनलमा ईङल्याण्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

त्यस्तै यसअघि २०१४ मा बंगलादेशमा आयोजित विश्वकपको उपाधि श्रीलंकाले जितेको थियो । श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले पराजित गरेको थियो । अस्ट्रेलिया र न्यूजील्याण्ड दुवैले अहिलेसम्म टी-२० विश्वकपको उपाधि नजितेकाले यसपटकको विश्वकपमा भने नयाँ टिमले उपाधि जित्ने भएको छ ।