काठमाडौँ । विज्ञापन बोर्ड नेपालले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै गरेको अनुरोधप्रति नेपाल विज्ञापन संघ(आन)ले विमति जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले प्रचलित कानूनविपरीत मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न, नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको थियो।
विमति जनाउँदै जवाफमा नेपाल विज्ञापन संघ (आन) ले आफूसँग सहकार्य नगरी विज्ञापन बोर्डले निकालेको विज्ञप्तिप्रति असहमति जनाउँदै विज्ञप्तीमार्फत नै आपत्ति जनाएको छ। आनले विज्ञापन उद्योग विस्तारै कोभिडपछि अगाडि बढदै गरेको परिप्रेक्ष्यमा बोर्डबाट ऐनको हवाला दिएर देश, काल, परिस्थितिलाई आँकलन नगरी सरोकारवालासँग सहकार्य नगरी विज्ञप्ति आउनु दुःखद भएको भन्दै एकलौटी रुपमा रोक लगाउने प्रयास गरेको आरोप लगाएको छ ।
आनका अध्यक्ष सोमप्रसाद धितालले शुक्रबार जारी गर्दै, ‘एकातर्फ सरकारले राजस्वको दोब्बर गर्ने लक्ष्य राख्नु अर्कातर्फ भैरहेको व्यापार व्यवसायमा असर गर्ने गरी विज्ञप्ति आउनु विरोधाभास छ। भर्खरै कोभिडको मारबाट थलिएको व्यवसायीहरुलाई व्यवसाय गर्न बर्जित गर्ने गरी षड्यन्त्रपूर्वक आएको विज्ञप्तिप्रति संघको घोर आपत्ति रहेको छ।’ भनेका छन् ।
विज्ञप्तीमा विज्ञापनमा रोक लगाउनु सरासर विज्ञापन व्यवसायसँग सम्बन्धित समस्त सञ्चार उद्यमी, विज्ञापनदाता तथा विज्ञापन व्यवसायीलाई कुठाराघात भएको उल्लेख गरेको छ। सरकार मातहतको निकायबाट यस्ता गैरजिम्मेवार अदूरदर्शी काम, कारबाही अगाडि बढाउनु अर्कमन्यताको पराकाष्ठा भएको आनको ठम्याइ रहेको छ।
प्रतिक्रिया