काठमाण्डौं । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, जिका भाइरस जस्ता रोगहरुका कारण स्वास्थ्य क्षेत्रमा चिन्ताको विषय बन्दै आएको छ । जाडोयाम सुरु भइसक्दा पनि लामखुट्टेको कमी हुन नसक्दा यसले थप समस्या बढाएको छ । तर, जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेका अनुसार वर्खायाम सकिएलगत्तै र जाडोयाम सुरु हुने पोष्ट मनसुनी समयमा लामखुट्टेको वृद्धि हुनु स्वभाविक नै हो ।
‘दिउँसो टोक्ने लामखुट्टले जिका भाइरस सार्छ, यसको सार्ने माध्यम अन्यको भन्दा खतरा हुन्छ । यौनसम्पर्क र अंग प्रत्यारोपण गर्दा पनि संक्रमित मानिसले अरुमा सार्न सक्छ ।’, काफ्ले बताउँछन् । जिका भाइरस सार्ने लामखुट्टेले थोरै ओसिलो पानीमा मात्रै फूल पार्न सक्छ ।
काठमाडौं जस्तो अव्यवस्थित शहरमा गमला, बाल्टी जस्ता स–साना भाडामा राखिएको सफा पानीमा यो भाइरस सार्ने लामखुट्टे बस्ने गर्दछ । विशेषगरी, उष्णप्रदेशीय वायुमण्डल भएको देश र भूभागमा जिका भाइरसको संक्रमण हुने उनी बताउँछन्।
सामान्यतया, भाइरल रोगहरुको लक्षण टाउको दुख्ने, रुघा लाग्ने, आँखा पोल्ने, नाकबाट पानी आउने जस्ता एउटै लक्षण भएकोले जिका भाइरसको लक्षण छुट्याउन समस्या पर्ने गरेको उनले बताए।
डेंगु सार्ने लामखुट्टले नै जिका भाइरस पनि साने हुदा यस विषयमा थप सचेतना फैलाउनुपर्ने आवश्यकता छ । यससँगै काठमाडौं महानगरपालिकाको स्थानीय तहबाट नै लामखुट्टेको वासस्थान पहिचान गरी लार्भा नष्ट गर्न अत्यावश्यक रहेको र यसका लागि पहल पनि गरिएको उनले बताए।
जिका भाइरस परीक्षा एवम् उपचारका लागि किट रहे पनि यसका लागि संघिय सरकारले थप निर्णय गरेर अघि बढ्नुपर्ने र यसका साथै जिका भाइरसबाट हुने क्षति कम गर्न शैक्षिक चेतना पनि अभिवृद्धि गर्नुपर्ने उनको धारणा छ ।-गोरखापत्र अनलाइन
प्रतिक्रिया