ताजा अपडेट »

फूलपातीमा नवपत्रिकासँगै भित्र्याइन्छ नवदुर्गा

शनिबार, १८ असोज २०७६

असोज १८,
बुटवल । शक्तिपूजाको महोत्सव हो, दसैं। विशेषतः दुर्गा भवानीको नौवटा रूपको पूजा गर्दै मनाइन्छ। यसरी नवदुर्गाको पूजा मनाइँदै गर्दा नवदुर्गाका नौ सहायक देवीको पनि पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार नवपत्रिकामार्फत् नवदुर्गाका यी सहायक देवीलाई भित्र्याइन्छ। घरघरमा भित्र्याइने फूलपातीमा नौवटा बोट, फूल र पालुवा रहेका हुन्छन्। घटस्थापनाका दिन पूजा गरिने दसैंघरमा नै वैदिक विधिबमोजिम फूलपाती भित्र्याइने चलन छ।

फूलपातीलाई शुभसाइतको प्रतीक पनि मानिन्छ। नवपत्रिकालाई नवपार्षद् पनि मान्छन्, नेपाल पञ्चा निर्णायक समितिका अध्यक्ष तथा धर्मशास्त्रविद् रामचन्द्र गौतम। उनका अनुसार नवपत्रिकाको प्रत्येक बोट, पालुवाले अलग–अलग देवीलाई जनाउँछ र यसरी नवदुर्गाको आराधना गर्दा उनकी सहायक देवीको पनि आराधना गर्ने प्रचलन रहेको छ। दसैंघर वा पूजाकोठामा फूलपाती भित्र्याउँदा केराको बोट, दाडिम, धानको बाला, हलेदो, मानवृक्ष, उखु, बेलपत्र, अशोकको फूल र जयन्ती भित्र्याउने गरिन्छ। वैदिक विधिअनुसार शक्ति आराधना गर्दा यी प्रत्येकले नवदुर्गाकी नवपार्षद् देवीलाई जनाउँछ। यसमध्ये केराको बोटले ब्रह्माणी देवीलाई जनाउँछ भने दाडिले रक्तदन्तिकालाई। त्यस्तै, धानको बालाले देवी लक्ष्मीलाई जनाउँछ र हलेदोले दुर्गालाई। चामुण्डा देवीको रूपमा मानवृक्षलाई लिइन्छ, त्यस्तै कालिका देवीका रूपमा उखु र शिवाको रूपमा उखु।

त्यस्तै, अशोकको फूललाई भने शोकरहिताको प्रतीकका रूपमा लिइन्छ। शोकरहिता देवीलाई कसैकसैले शोकहरिणी देवी पनि भन्दछन्। जयन्ती चाहिँ कात्तिकी देवीको प्रतीक मानिन्छ। यसरी फूलपाती घरघरमा ल्याउने चलनसँगै गोरखा दरबारबाट विभिन्न ठाउँमा लाने चलन छ। काठमाडौंको हनुमानढोकामा पनि यसरी नै गोरखा दरबारबाट फूलपाती भित्र्याउने चलन छ। यसका लागि समरजङ्ग गुल्म खटिन्छ। गोरखादेखि धादिङ जिल्लास्थित जीवनपुरसम्म ६ जना मगरजातिका पुजारीले फूलपाती पुर्‍याउँछन् भने जीवनपुरदेखि ल्याउन अर्का ६ जना ब्राह्मण खटाइन्छ। फूलपाती सहर भित्र्याउनुअघि टुँडिखेलमा बढाइँ पनि गरिन्छ। त्यहाँबाट जमल पुगेपछि गुरुज्यूको पल्टन, पञ्चैबाजासहित निजामती सेवाका उच्च पदस्थ अधिकारीसहितको लस्करले फूलपाती हनुमानढोका पुर्‍याउँछन्। नवपत्रिका पूजा गर्दा नौ प्रकारका पातहरूमा एक–एक गरी पूजा गरिन्छ, षोडशोपचारसहित। वैदिक परम्पराअनुसार देवताको पूजा गर्दा प्रयोग गरिने १६ वटा कार्यलाई षोडशोपचार भनिन्छ। हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका प्रमुख अरुणा नकर्मीका अनुसार हनुमानढोकामा भित्र्याउने कार्यक्रम तय गरिएको छ, दिउँसो ३ बजे।

यसरी फूलपाती भित्र्याउने कुनै साइत नहुने बताउँछन्, नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतम। कार्यक्रमका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराई, काठमाडौं प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएका छन्। यस दिन शुभसाइतमा काठमाडौंलगायत अन्य दरबारका तलेजु देवीलाई मन्दिरबाट तल मूलचोकमा ल्याइने परम्परा पनि छ। यसलाई नेपालभाषामा द्यः क्वां बिज्याइगु भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको शुभसाइतअनुसार शनिबार बिहान ८ः५२ मा तलेजु भवानीको यात्रा सुरु गरिने र बिहान १०:०५ बजे स्थिरासन वा स्थापना गरिनेछ। काठमाडौंबाहिर पनि विभिन्न ठाउँमा यसरी गोरखाबाट फूलपाती भित्र्याउने चलन छ। यस दिन नवदुर्गामध्ये कालरात्रिको पूजा हुन्छ। यस दिन महासरस्वतीको पनि पूजा हुन्छ र उनकै स्वरूपमा कापी, कलम, पुस्तक, मसीदानीको पनि पूजा गर्ने चलन छ। कृषकहरूले पनि यस दिन धानको पूजा गर्दै धानको बाला र बोट घरमा भित्र्याउँछन्। -रासस