ताजा अपडेट »

चिनियाँ राष्ट्रपति नेपाल आउँदै, २३ वर्षपछिको उच्च भ्रमण

शुक्रबार, १७ असोज २०७६

असोज १७,
काठमाण्डौं । चिनियाँ राष्ट्रपति सी चीनफिङ दुई दिने नेपालको राजकीय भ्रमणको सिलसिलामा असोज २५ गते काठमाडौं आउँदै छन्। उनी भारत हुँदै नेपाल आउन लागेका हुन्। असोज २५ गते सी नेपालको भ्रमण गर्ने तेस्रो चिनियाँ राष्ट्रपति हुनेछन्। यसअघि सन् १९८४ र १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति क्रमशः ली सियाननियान र जियाङ जेमिनले नेपालको भ्रमण गरेका थिए। जियाङ जेमिन आएको २३ वर्षपछि सी नेपाल आउन लागेका हुन्।

असोज २४ गते भारतको तामिलनाडु पुग्ने राष्ट्रपति सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भलाकुसारी गरेपछि काठमाडौं आउने कार्यक्रम तय भएको छ। नेपाल र चीनबीच अगष्ट १, १९५५ मा कूटनीति सम्बन्ध स्थापना भएपछि चीनबाट नेपालमा जम्मा ९ वटा उच्चस्तरीय भ्रमण भएका छन्। यही अवधिमा नेपालबाट चीनतर्फ २९ पटक उच्चस्तरीय भ्रमण भएको छ। असोज २५ गते राष्ट्रपति सीले गर्ने नेपाल भ्रमण चीनको तर्फबाट १०औं उच्चस्तरीय भ्रमण हुनेछ। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६४ वर्षमा दुई जना चिनियाँ राष्ट्रपति, पाँच जना चिनियाँ प्रधानमन्त्री र एकजना चिनियाँ उपप्रधानमन्त्रीले नेपालको भ्रमण गरेको देखिन्छ। यही अवधिमा नेपालबाट ३ जना राजा, दुई जना राष्ट्रपति, दुई जना उपराष्ट्रपति र १० जना प्रधानमन्त्रीले चीनको भ्रमण गरेका छन्। पछिल्ला वर्षहरुमा नेपालबाट चीनतर्फ भएका उच्चस्तरीय भ्रमणहरु प्राय सबै मेला तथा सम्मेलनमा सहभागी हुने नाममा भएको देखिन्छ। नेपालबाट सबैभन्दा बढी पटक चीनको भ्रमण गर्ने उच्चव्यक्तिमा पर्छन् राजा विरेन्द्र। उनले राष्ट्रप्रमुखको हैसियतले ६ पटक चीनको भ्रमण गरेका थिए।

दुई देशबीच उच्चस्तरीय भ्रमणको सुरुवात नेपालले गरेको थियो। तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले सन् १९५६ मा चीनको भ्रमण गरेपछि दुई देशबीच उच्चस्तरीय भ्रमणको ढोका खुलेको थियो। आचार्यले चीनसँग कूटनीतिक सम्बन्ध गाँसिएको एक वर्षपछि चीनको भ्रमण गरेका थिए। आचार्य चीन गएको एक वर्षपछि सन् १९५७ मा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले नेपालको भ्रमण गरेका थिए। उनी सन् १९६० मा पनि नेपाल आएका थिए। दुई पटक नेपालको भ्रमण गर्ने उनी नै एक मात्र चिनियाँ उच्चस्तरीय पाहुना हुन्। आचार्यपछि प्रधानमन्त्रीको रूपमा बिपि कोइरालाले सन् १९६० मा चीनको भ्रमण गरेका थिए। त्यसपछि सन् १९६१ मा राज महेन्द्र चीन पुगेका थिए। कृतिनिधि विष्टले प्रधानमन्त्रीको रूपमा सन् १९७२ र १९७८ मा चीनको भ्रमण गरेका थिए। राजा विरेन्द्रले सन् १९७३, १९८२, १९८७, १९९३, १९९६ र २००१ गरी ६ पटक चीन भ्रमण गरेका थिए। विरेन्द्रपछि चीन भ्रमण गर्नेमा पर्छन् तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला। प्रधानमन्त्रीको रूपमा उनी सन् १९९२ र १९९३ मा चीन पुगेका थिए। मनमोहन अधिकारीले नेपालको प्रधानमन्त्रीको रूपमा सन् १९९५ मा चीनको भ्रमण गरेका थिए। अधिकारीपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् १९९६ मा चीनको भ्रमण गरेका थिए। तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि दुई पटक चीनको भ्रमण गरेका थिए। उनी सन् २००२ र २००५ मा चीन पुगेका थिए। 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ सन् २००८ र २०१८ मा गरी दुई पटक प्रधानमन्त्रीको रूपमा चीनको भ्रमण गएका थिए। प्रधानमन्त्री भएलगत्तै पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने अभ्यासलाई तोड्दै प्रचण्डले सन् २००८ मा प्रधानमन्त्री भएलगत्तै चीनको भ्रमण गरेका थिए। तर, पछि उनले चीन भ्रमणबाट फर्कने क्रममा चीन भ्रमण औपचारिक नभएको र औपचारिक विदेश भ्रमण भारतबाटै गर्ने प्रतिक्रिया दिएका थिए। प्रचण्डपछि नेपालको प्रधानमन्त्री भएका माधवकुमार नेपालले पनि सन् २००९ मा चीनको भ्रमण गरेका थिए। त्यसपछि तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले सन् २०१४ मा चीन भ्रमणमा गएका थिए। सन् २०१० र २०१५ मा तत्कालीन राष्ट्रपति रामवरण यादवले चीनको भ्रमण गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१६ र २०१८ गरी दुई पटक चीनको भ्रमण गरेका छन्। पूर्व उपराष्ट्रपति परमानन्द झा सन् २०१३ र २०१५ मा दुई पटक चीन पुगेका थिए। उपराष्ट्रपति नन्दबहादुर पुनले सन् २०१६ र २०१८ मा चीनको भ्रमण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१९ को अप्रिलमा चीनको भ्रमण गरेकी थिईन्। तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाई सन् १९५७ र १९६० मा नेपाल भ्रमण गरेपछि १८ वर्षसम्म चीनबाट उच्चस्तरीय भ्रमण नेपालमा भएको थिएन। त्यसपछि सन् १९७८ मा तत्तकालिन चिनियाँ उपप्रधानमन्त्री देङ साओपिङले नेपाल भ्रमण गरेका थिए। सन् १९८१ मा तत्कालीन चिनियाँ प्रधानमन्त्री झाउ झियाङ नेपाल आएका थिए। 

नेपालको भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति ली सियाननियान हुन्। उनले सन् १९८४ मा नेपालको भ्रमण गरेका थिए। लि पछि तत्कालीन चिनियाँ प्रधानमन्त्री ली पेङ् सन् १९८९ मा नेपाल आएका थिए। त्यसपछि राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ मा नेपालको भ्रमण गरेका थिए। चिनियाँ तत्कालीन प्रधानमन्त्री झु रोङजी सन् २००१ मा नेपाल आएका थिए। अन्तिम पटक नेपाल भ्रमण गर्ने चिनियाँ उच्चस्तरीय पाहुना तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियावाओ हुन्। उनले सन् २०१२ मा नेपालको भ्रमण गरेका थिए। -सुरेन्द्र पौडेल/नेपाल न्यूज