ताजा अपडेट »

सकियो 'दशैं सस्तो बजार', पौने करोडको कारोबार

शुक्रबार, १७ असोज २०७६

असोज १७,

बुटवल । रुपन्देहीको बुटवलमा सञ्चालित दशैं सस्तो बजार शुक्रबार सकिएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा संघको कार्यालय परिषर बालमन्दिरमा यहि असोजको १२ गते घटस्थापनादेखि दशैं सस्तो बजार सञ्चालन गरिएको थियो । ६ दिनसम्म सञ्चालित दशैं सस्तो बजारमा अन्दाजी ७५ लाख रुपैंयाको कारोवार भएको तथा १५ हजार उपभोक्ताले सेवा प्राप्त गरेको संघले जनाएको छ । १९ औं संस्करणको दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरु, खाद्यान्न, चिनी, तेल, नुन, आटा, दाल, चिया, दुग्धजन्य उत्पादन, लोकल कुखुरा, अण्डा, टर्की जुम्लाको स्याउ, मसला, प्रेसर कुकर, नेपाली जुत्ता लगायतका ३० स्टल राखिएको थियो ।

यी सामग्रिहरुमा बस्तु अनुसार ३० प्रतिशतसम्म छुटमा बिक्रि वितरण गरिएको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य नरिश्वर शर्मा पौडेलले जानकारी गराए । त्यस्तै नेपाल राष्ट्र बैंकको सहयोगमा दशैं सस्तो बजारमा नयाँ नोट समेत सटही गरिएको थियो । त्यस अवसरमा ९१ लाल ५० हजार रुपैंया नयाँ नोट करिब १ हजार ७ सय जनालाई वितरण गरिएको संघका कार्यसमिति सदस्य तथा दशैं सस्तो बजार समितिका सदस्य बसन्तप्रसाद ढकालले बताए । नयाँ नोट सटहीका लागि ग्लोबल आईएमई बैंकले सहजिकरण गरेको थियो । संघले बाहिर बजारको भन्दा सुलभ मुल्यमा बिक्रि वितरण गरेकाले पनि दशैं सस्तो बजारमा उपभोक्ताको उल्लेखनीय उपस्थिती रहेको र बजारबाट उपभोक्ता सन्तुष्ट भएको दशैं सस्तो बजारका संयोजक पौडेलले जानकारी गराए ।

उपभोक्तालाई सुलभ मुल्य र गुणस्तरीय सामान उपलब्ध गराउने व्यबस्था मिलाउने काम सरकारको भएपनि सरकारले गर्नुपर्ने काम नीजि क्षेत्रबाट बुटवल उद्योग बाणिज्य संघले निरन्तर गर्दै आएको बताउँदै आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गरिने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए । दशैं सस्तो बजार समापनका अवसरमा संघका अध्यक्ष खिमबहादुर हमाल, संयोजक नरिश्वर शर्मा पौडेल लगायत पदाधिकारी तथा सदस्यहरुले स्टल धनीलाई धन्यवाद सहित प्रमाण पत्र प्रदान गरेका थिए ।