ताजा अपडेट »

गुल्मीमा दशैंको रौनक, बजारमा बढ्यो चहलपहल

शुक्रबार, १७ असोज २०७६

असोज १७,

अनिल खत्री/ग्लोबल आवाज
गुल्मी । हिन्दुहरुको महान् चाड बडादशैंको आगमनले गुल्मी लगायत ग्रामीण मुख्य बजारमा चहलपहल बढ्को छ । दशैं पर्वलाई मध्यनजर राखेर आवतजावत गर्नेको चाप र बजारमा किनमेल गर्न आउनेहरुको भिडभाडले चहलपहल बढेको हो । कामबिशेषले शहर र रोजगारिको लागि बिदेशीएकाहरु दशैंका लागि गाउँ फर्कने क्रमले सुनसान बनेका ग्रामीण बस्तीहरुमा पनि चहलपहल बढेको छ ।

चाडपर्वमा नयाँ कपडा लगाउनु पर्छ मिठो खानु पर्छ भन्ने मान्यताले बजारमा किनमेल गर्नेहरुको भिडले चहलपहल बढेको छ । वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि ग्रामीण क्षेत्रमा चहलपहल बढेको हो । दशैं मनाउन तथा किनमेल गर्न आउनेहरुको भिडले गुल्मीको सदरमुकाम तम्घासमा पनि भिडभाड बढेको छ । तम्घास बजारका बिभिन्न पसलहरुमा किनमेल गर्नेहरुको भिड बढेको हो । चाडपर्वसँगै किनमेल गर्न आउनेहरुले गर्दा तम्घास बजारका व्यासायीहरु खुसी छन् । चाडपर्वमा राम्रो व्यापार हुने गरेको व्यासायीहरु बताउछन् । सदरमुकाम र अन्य ठाउबाट बिभिन्न गतनतव्य स्थलमा फर्किनेहरुले बसपार्क तथा सवारी साधनहरु छुट्ने स्थानमा भिड देख्न सकिन्छ । साउदीमा साढे दुइवर्ष बसेर आएका मालिका गाउँपालिका गुल्मी घर भएका कृष्ण बिष्टले दशैंमा परिवारसँग खुसी साटेर मनाउन आएको बताए । प्रदेशीनु रहर नभइ बाध्यता रहेकाले चाडपर्व मनाएर रोजीरोटीकै लागि पुनः प्रदेश फर्किनुपर्ने बाध्यता रहेको गुनासो पोखे ।

खुसीले कतिबेला परिवारसँग पुगौं भएका बिष्टले रोजगारिको व्यवस्था नहँुदा बाध्यताले बिदेशीनु बिकल्प नरहेको उनको भनाई छ । दशैंले बिद्यालयहरु पनि बन्द भएका छन् । ग्रामीण सडकमा यात्रुको चाप बढेको छ । चाडपर्व मनाउन लामो समयसम्म देश तथा प्रदेशमा रहेका आफन्तहरु घर फर्किने गर्नाले सडकमा चाप वढ्न थालेको हो । दशैं पर्वलाई मध्य नजर राखेर जिल्लाका स्थानीय तहहरुले ग्रामीण भेगका कच्ची सड्कहरु मर्मत गरिरहेका छन् । वर्षातको पानीले बिग्रिएका सडकहरु मर्मत गर्नाले यात्रुहरुलाई सहजरुपमा गनतब्यमा पुग्न सजिलो हुनेछ । चाडपर्वलाई लक्षित गरेर जिल्लामा २ वटा नागरिक सहायता कक्ष स्थानपना भएका छन् । यात्रुहरुको सहजताको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीले बसपार्क र जीपपार्क क्षेत्रमा नागरिक सहायता कक्षहरु सञ्चालन गरेको छ । यात्रुहरुलाई सुरक्षित तरिकाले गनतव्यमा पुग्न सहजता ल्याउन सहायता कक्षले सहयोग गर्ने उद्देश्य राखिएको छ ।