ताजा अपडेट »

गाउँपालिका अध्यक्षमै मेरो उम्मेदवारी हुन्छ: सनोज यादव

विहीबार, २५ कार्तिक २०७८

भैरहवा । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले फेरी गाउँपालिका अध्यक्षमै उम्मेदवारी दिने घोषणा गरेका छन् । हिजो बिभिन्न स्थानमा छठ पर्वको अवसरमा आयोजित कार्यक्रमहरुमा बोल्दै यादवले पुनः अध्यक्ष पदकै लागी उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले अहिले देखी नै गाउँपालिकाका नागरिकमा बिभिन्न भ्रमहरु फैलाउने कार्य भै रहेको हुदा यस्ता अफवाहमा नलाग्न आग्रह गरेका छन् । “मैले गरेका बिकासका कम देखेर केही स्थानिय नेताहरुले भ्रम फैलाउने काम गरि रहेका छन् , सनोज यादव चुनाव लड्दैन भन्दै हिडिरहेका छन् । ढुक्क हुनुस तपाईहरुको आर्शिवाद पाएको म फेरी पनि तपाईहरुको सेवा गर्न गाउँपालिका अध्यक्षमै उम्मेदवारी दिनेछु ।” यादवले भने

उनले केही नेताहरुले टिकट नपाउने झुठो खबर बाडी रहेको आरोप लगाए । “मैले रोहिणी गाउँपालिकामा बलियो जनाधार बनाएको छु, पार्टीलाई जिताएको छु मलाई टिकट नदिए अरु कसले टिकट पाउछ ?” उनले भने ।

यादवले आफ्नो ५ बर्षे कार्यकालमा बिकास निर्माणमा जोड दिएको बताए । कार्यभार सम्हाल्दा नै जिर्ण अवश्थामा रहेको सडक सञ्जाललाई सुधार्ने प्रतिवद्धता गरेका उनले अधिकांश टोलमा अहिले पक्की सडक भएको जिकिर गरे । प्राय सबै टोलका स्थानियहरु हिलोमा हिड्ने बाध्यता रहेकोमा अहिले त्यो हटेर गाउँका भित्रि बाटो समेत ढलान भएको उनको भनाई थियो ।

पूर्वाधार निर्माणमा मात्र नभई शिक्षा, स्वास्थ्य, कृषिमा पनि समान बिकास गरेको यादवले दावी गरे । अहिले गाउँपालिकामै ५ वटा बिद्यालयमा उच्च शिक्षा सञ्चालन गरेको र बिद्यालयमा नयाँ भवन निर्माण पनि प्राथमिकतामा राखी बजेट बिनियोजन गरेको उनको भनाई थियो ।

रोहिणी गाउँपालिकाले कोभिडको दौरान आफ्नै अस्पताल समेत सञ्चालन गरेको थियो । भैरहवा र बुटवलका अस्पतालले कोभिडका बिरामी लिन नमाने पछि गाउँपालिकाले आफ्नै अग्रसरतामा कोभिड अस्पताल सञ्चालन गरि धेरै बिरामीको ज्यान जोगाएको थियो ।

“५ बर्षे कार्यकालमा मैले प्रतिवद्धता गरेका कति काम गर्न सके कति सकेन त्यो मूल्यांकन गर्ने तपाई नागरिक नै हो ।” उनले भने “मैले जहिले पनि समाजको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरेको छु ।”

यादवले आफ्नो कार्यकालमा संस्कृति संरक्षणमा समेत उत्तिकै ध्यान दिएको जिकिर गरे । पालिकामा जिर्ण रहेका ऐतिहासिक मन्दिर र मस्जिदहरुको जिर्णोदार मात्र नभई बिभिन्न धर्मका धार्मिक क्रियाहलापहरुमा पनि गाउँपालिकाले लगानी गरेको उनको भनाई छ । दशैं, तिहार, मुहर्रम, छठ सबै पर्वको सम्मान गाउँपालिकाले राखेको छ ।

यादवले आफ्नो ५ बर्षे कार्यकालमा गर्न खोजेका अन्य काम गर्न अझै बाँकी रहेको हुदा फेरी जनताको सेवाको लागी गाउँपालिकामै उम्मेदवारी दिने बताए । उनिहरु बिकास बिरोधी र मेरो काम हेरेर पचाउन नसकेकाहरु अहिले देखी नै भ्रम छरि रहेका छन्, बिभिन्न अफवाह फैलाउन ब्यस्त रहेको समयमा म बिकासकै काममा लागेको छु, बाँकी मूल्यांकन गर्ने काम रोहिणी गाउँपालिकावासीको हो ।” यादवले भने