बुटवल । मोफसलको पुरानो पत्रिका दैनिक लुम्बिनीको सम्पादकमा शेरबहादुर केसी नियुक्त भएका छन् । सिद्धार्थ पब्लिकेशन प्रा.लि.को संचालक समितिले केसीलाई सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पब्लिकेशनका अध्यक्ष मोहन चापागाईले एक कार्यक्रमकाबीच नवनियुक्त सम्पादक केसीलाई पदवहाली गराए। करिव साढे दुई दशक पत्रकारितामा रहेका केसी यस अघि दैनिक लुम्बिनीको सम्पादकीय टिममै रही काम गरेका थिए। आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका केसी लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्रीका प्रेस सल्लाहकार हुन्।
नागरिक दैनिकलगायत काठमाडौंबाट प्रकाशित मिडियामा सशक्तरुपमा काम गरेका केसीसँग बुटवलका पत्रिकामा सम्पादकीय नेतृत्व सम्हालेको अनुभव छ । उनले जनसंघर्षको कार्यकारी सम्पादक, नयाँ भावना दैनिकको सम्पादक भइ काम गरेका छन् ।
पत्रकारितामा विशेष दख्खल राख्ने केसीको नेतृत्वमा रहने लुम्बिनी दैनिकले सशक्त उपस्थिति देखाउने विश्वास अध्यक्ष चापागाईंले गरे । हाल सम्पादक रहेका यानेन्द्र जिसीलाई सल्लाहकार सम्पादकको जिम्मेवारी प्रदान गरिएको छ ।
मोफसलको सबैभन्दा पुरानो दैनिक लुम्बिनी ३३ वर्षदेखि निरन्तर प्रकाशित रहेको छ । निरन्तर प्रकाशन रहेको यो मुलुककै पहिलो निजी पत्रिका हो ।
प्रतिक्रिया