ताजा अपडेट »

एमाले महाधिवेशन प्रतिनिधिका उम्मेदवार : काेही पार्टी सदस्य नै नभएका, काेही 'फरार' सूचीका

विहीबार, २५ कार्तिक २०७८

ओखलढुंगा । नेकपा (एमाले)काे १०औँ राष्ट्रिय महाधिवेशनकाे महाधिवेशन प्रतिनिधिका लागि ओखलढुंगामा २९ जनाले उम्मेदवारी दिएका छन्।निर्वाचन समितिले सार्वजिनक गरेकाे विवरण अनुसार तत्कालीन स‌ंविधानसभा सदस्य हर्कबाेल राई र शकुन्तला राजभण्डारी, एमाले जिल्ला अध्यक्ष माेहनकुमार श्रेष्ठ, प्रदेशसभा सांसद अम्बिर गुरुङ, उत्तम राई, तीर्थ सुवेदीसहित २९ नेता कार्यकर्ताकाे  उम्मेदवारी परेकाे छ । 

महाधिवेशन प्रतिनिधि दावी गर्नेमा अनेरास्ववियुका केन्द्रीय सदस्य निशान श्रेष्ठ, युवा संघकी नेतृ थलु राजभण्डारी समेत छन् । निर्वाचन समितिले बिहीबार दिउँसाे सम्मका लागि उम्मेदवारी फिर्ता लिन सक्ने जनाएकाे छ । सहमतिका लागि प्रयास भइरहेकाे एमालेका जिल्ला ईञ्चार्ज यज्ञराज सुनुवारले बताए । 

उम्मेदवार पार्टी सदस्य नभएकादेखि 'फरार' सम्म

एमालेका महाधिवेशन प्रतिनिधीका उम्मेदवार पार्टी सदस्य नभएका र आपराधिक मुद्दामा फरार रहेका व्यक्तिसम्म छन् ।

उम्मेदवारी दर्ता गरेकी युवा संघकी नेता थलु राजभण्डारीकाे पार्टी सदस्यता नभएकाे, सिद्धिचरण नगरपालिकाकी उपप्रमुखकाे विधान अनुसारकाे याेग्यता नपुगेकाे भनेर निर्वाचन समितिले कैफियत लेखेकाे छ । त्यस्तै, वारेसबाट उम्मेदवारी दर्ता गराएका पेशल राज बुढाथाेकी प्रहरीकाे फरार सूचीमा छन् । ठगी मुद्दामा फरार उनकाे वारेसबाट उम्मेदवारी दर्ता गरिएकाे छ ।