ताजा अपडेट »

पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी खेल्न नेपाली क्रिकेट टोली ओमानतर्फ

विहीबार, १६ असोज २०७६

असोज १६,
काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुरबाट ओमान जादैं छ । नेपाल दिउँसो ३:१० बजे सिंगापुरबाट ओमान प्रस्थान गर्ने नेपाली टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीले जानकारी दिएका छन् ।

नेपाल गत असोज ८ गते जिम्बावे र सिंगापुरसँग त्रिकोणात्मक सिरिज खेल्न सिंगापुर गएको थियो । नेपाल जिम्बावेसँग ५ विकेट र ४० रनले पराजित हुँदा सिंगापुरलाई ९ विकेटले हराएको थियो । सिंगापुरसँगको दोस्रो खेल भने बुधबार वर्षाको कारण रद्द भएको थियो । ओमानमा असोज १८ देखि २३ गते सम्म पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिज हुने छ । जसमा नेपालले पहिलो खेल असोज १९ गते हङकङसँग खेल्ने छ । असोज २० गते नेदरल्यान्ड्ससँग खेल्ने छ । असोज २२ गते टेष्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ ।

नेपाली टोलीले असोज २३ गते आयोजक ओमानसँग खेल्ने छ । नेपाल बाहेक अन्य चार टोलीले यस सिरिजलाई अक्टोबर तेस्रो साता देखि युएईमा सुरु हुने आईसीसी ग्लोबल छनोट विश्वकप छनोटलाई तयारी स्वरुप लिएका छन् । नेपाल भने एक महिना अघि सिंगापुरमा सम्पन्न आईसीसी टि ट्वान्टी एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै बाहिरिएको थियो । यो सिरिजलाई नेपाली टोलीले मंसिरमा घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी स्वरुप लिएको छ ।