असोज १६,
बुटवल । स्थानीय महिला उद्यमशीलता विकास समिति, रुपन्देहीको चौथो बैठक सैनामैनाको मुर्गियामा सम्पन्न भएको छ । बुधबार बसेको समतिको बैठकमा संयोजक एवम् बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले एकवर्षभित्र भए गरेका कार्यहरुको गतिविधि सम्बन्धी जानकारी गराएकी थिइन् । साथै बैठकले समितिको सचिवमा सर्वसम्मत रुपले सियारी गाउँपालिकाकी उपाध्यक्ष अमृता गुरुङलाई चयन गरेको छ । आगामी पौष ११ गते पाँचौ बैठक देवदह नगरपालिकामा गर्ने निर्णय समेत गरेको छ ।
सोही अवसरमा सीता जीसी र प्रेम श्रेष्ठले सफल उद्यमीका हैसियतले आफ्ना सफलताका कथा बताएका थिए । उनीहरुका कथाले सहभागीहरुलाई उत्साह र हौशला थपेको थियो । साथै बैठकमा उपस्थित उपप्रमुख एवम् उपाध्यक्षहरुले आफ्नो पालिकाले महिला उद्यमशीलताका विकासका निम्ति निर्माण गरेको योजना, बजेट तथा कार्यान्वयन पक्षका सन्दर्भमा रिपोर्टिङ्ग गरेका थिए । सोही अवसरमा देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले यो समिति महिलाहरुको उद्यमशीलता विकासका निम्तिमात्र नरहेर नेतृत्व एवम् क्षमता अभिवृद्धि गर्ने खालको समिति रहेको बताइन् । महिलाहरुमा उद्यमशीलता विकासका निम्ति वृहत् योजना निर्माण गर्नुपर्ने र सबै पालिकाहरुले उदाहरणीय कार्यक्रम तय गरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।
बैठकमा सामाजिक उद्यमी दलबहादुर गुरुङले उद्यमशीलता विकास, यसका आधारहरु र टिम बिल्डिङ्गका सन्दर्भमा सहजीकरण गरेका थिए । रुपन्देहीमा रहेका स्थानीय सरकारका उपप्रमुख एवम् उपाध्यक्षहरुको छाता संगठनको रुपमा स्थानीय महिला उद्यमशीलता विकास समिति रहेको र यसले स्थानीय तहमा रहेका महिलाहरुलाई उद्यमी बनाउने, आर्थिक, सामाजिक विकासका निम्ति ज्ञान, धारणा र व्यवहारमा आमूल परिर्वतन गर्दै महिलाहरुलाई दीगो विकासतर्फ उन्मुख गराउने लक्ष्य राखेको समितिका संयोजक गोमादेवीले बताएकी थिइन् ।
प्रतिक्रिया