असोज १६,
काठमाण्डौं । अप्रत्याशित रूपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले पनि चर्चा पाएको छ । नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन । अधिवेशन र पात्रबारे अनौपचारिक परामर्श भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चलाएको छ । सभामुखबाट महराले दिएको राजीनामा बुधबार सनाखत गरी रिक्तताको सूचना टाँस भएको छ ।
सङ्घीय संसद् सचिवालयमै कार्यरत एक महिलाले जबर्जस्ती करणीको अभियोग लगाएपछि महराले सभामुखबाट राजीनामा दिएका थिए । उनको राजीनामा लगत्तै आरोपित भनिएकी महिलाले आफ्नो आरोप खण्डन पनि गरेका थिए । संवैधानिक व्यवस्था अनुसार, सभामुख वा उपसभामुख फरक राजनीतिक दलको हुनुपर्छ । सभामुख वा उपसभामुखमध्ये एक फरक लिङ्गको हुनुपर्ने पनि संवैधानिक व्यवस्था नै छ । अहिले उपसभामुख तत्कालीन एमालेबाट निर्वाचित भएकी डा. शिवमाया तुम्बाहाङ्फे रहेकी छन् । यसअघि सभामुखमा माओवादी केन्द्रबाट महरा उम्मेदवार बनेका थिए । दुई दल एकीकृत भएपछि विपक्षी दलले पुनः निर्वाचनको माग गरे पनि सशक्त कार्यसूची भने बनाउन सकेको थिएन । अबको समीकरण अनुसार उपसभामुखमा तुम्बाहाङ्फेलेलाई निरन्तरता दिएमा सभामुख नेकपाले पाउने छैन । अन्य दललाई सभामुख दिन नेकपाले नचाहेमा उपसभामुखको राजीनामा अनिवार्य छ ।
तर, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने पात्र र सभामुख चयनको मितिबारे औपचारिक रूपमा कुनै पनि छलफल नभएको बताए । उनले भने, ‘‘हामीले भर्खर मात्रै अप्रत्याशित घटना फेस गरेका छौँ । अब सभामुख चयनको प्रक्रिया दलीय सहमतिमा नै अघि बढ्छ । व्यक्तिबारे हामीले कुनै छलफल गरेका छैनौँ । सम्भवतः अब अर्को अधिवेशनमा नै चयन प्रक्रिया अगाडि बढ्छ ।’’ तर, सङ्घीय संसद्को चौथो अधिवेशनमा पारित भएका केही विधेयक प्रमाणीकरणको प्रक्रियामा छन् । ती विधेयक राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनुअघि सभामुखले प्रमाणित गर्नुपर्ने व्यवस्था छ । सभामुख नहुँदा तत्काल प्रमाणीकरण हुनुपर्ने विधेयक भने अगाडि बढ्न सक्ने अवस्था छैन । यो परिस्थितिअनुसार भने विशेष अधिवेशनबाट पनि सभामुखको चयनको प्रक्रिया अगाडि बढ्ने सम्भावना रहन्छ ।
रिक्तताको सूचना टाँसियो
यसैबीच सङ्घीय संसद् सचिवालयले सभामुखबाट महराले दिएको राजीनामा सनाखत गरी रिक्तताको सूचना टाँस गरेको छ । सचिवालय सचिव भरत गौतमले रिक्तताको सूचना जारी गरेका छन् । प्रतिनिधिसभा नियमावलीको नियम २११ (२) बमोजिम सूचना जारी गरिएको हो ।
राजीनामा परिष्कृत
यसैबीच राजीनामाको भाषालाई लिएर आलोचना भएपछि महराले दोस्रो राजीनामापत्र बुझाएका छन् । मङ्गलबार साँझ नै दोस्रो पत्र प्रेषित गरिएको हो । दोस्रो राजीनामापत्र सनाखत गरी सचिवालयले सूचना जारी गरेको हो । पहिलो राजीनामामा महराले छानबिन प्रक्रिया नसकिँदासम्म भन्ने शब्द प्रयोग गरेका थिए । तर दोस्रोमा ‘छानबिन प्रक्रियाको सहजताका लागि आजैका मितिदेखि’ भन्ने शब्द प्रयोग गरिएको छ । महराले प्रेषित गरेको दोस्रो राजीनामा पत्रमा भनिएको छ, ‘‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु ।’’-गोरखापत्र अनलाइन
प्रतिक्रिया