असोज १५,
काठमाण्डौं । चाडपर्वको मौका छोपी टिकट काउन्टर लगायत अन्यले बढी भाडासमेत असुल्ने २ सय ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले असोज ५ गतेदेखि आजसम्म २३२ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।
प्रहरीले उपत्यकाभित्रका विभिन्न १४ वटा स्थानमा सेवाग्राहीको लागि गुनासो डेस्कसमेत सञ्चालनमा ल्याएको छ। त्यति मात्र होइन सादा पोसाकमा प्रहरी परिचालन पनि गरिएको छ। बुधवार मात्र प्रहरीले दक्षिणकाली दर्शन सुमो टिकट काउन्टरका कर्मचारीलाई नियन्त्रणमा लिएको छ। बढी भाडा लिएको अभियोगमा प्रहरीले रामचन्द्र कार्कीलाई नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरूमा दशैं मनाउन घर फर्कने यात्रुहरुको संख्या बढेको छ। गत असोज ५ गतेदेखि १४ गतेसम्म उपत्यकाबाट करिब १ लाख ३७ हजार ८६ वटा सवारीसाधन बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। त्यस्तै यो अवधिमा उपत्यकाबाट करिब ११ लाख ९१ हजार ९८८ मानिस बाहिरिएका छन्।
दशैं, तिहार र छठ पर्व मनाउनको लागि घर फर्कनेहरुले उपत्यकामा रहेका टिकट काउन्टरमा अहिलेसम्म १ लाख २७ हजार ३ सय ६ वटा अग्रिम टिकट बुकिङ गरिसकेका छन्। गत १० गतेदेखि यात्रुको लागि अग्रिम टिकट खुल्ला गरिएको हो। तर धेरैले टिकट नपाएको गुनासो गरेका छन्।
प्रतिक्रिया