कपिलवस्तु । श्रीमतीको हत्या गरी जङ्गलमा फालेर फरार रहेको अभियोगमा कपिलवस्तुका एक पुरुष पक्राउ परेका छन् । महाराजगँज नगरपालिका–११ बाबा बनगाई बस्ने ४५ वर्षीय राम केवल लोनियालाई प्रहरीले पक्राउ गरेको हो ।
लाेनियाले आफ्नै ३५ वर्षीया श्रीमती चिन्का लोनियालाई गत असोज १७ गते हत्या गरी बुद्धभूमि नगरपालिका–९ स्थित चम्पापुरस्थित कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा फालेका थिए । उक्त ठाउँमा मानव कंकाल फेला परेपछि ईलाका प्रहरी कार्यालय गोरुसिङेबाट खटिएको प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा कात्तिक ७ गते घटनास्थलमा फेला परेका चप्पल, कपडाहरुबाट उनको सनाखत भएको थियो ।
घटना सम्बन्धमा गोप्य रुपमा बुझ्दै जाँदा चिन्कालाई राम केवलले हत्या गरी नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बस्दै आएको भन्ने खुल्न आएपश्चात खोजतलास गर्नेक्रममा ईलाका प्रहरी कार्यालय गोरुसिङेबाट खटिएको प्रहरीले बुद्धभूमि नगरपालिका–९ डुमरामा फेला पारी पक्राउ गरेको हो ।
चिन्काले पर–पुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर आपसी झगडा भएपछि श्रीमतीलाई मार्ने योजना बनाएका थिए । भदौ १५ गते बाती काट्ने काठ लिन जाने बहानामा जंगलमा लगी हसियाँले हानेर हत्या गरी भारततर्फ भागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
यसैबीच कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी महाराजगन्ज नगरपालिका–८ बन्जरिया घर भएका ४३ वर्षीय भोला उपाध्याय भन्ने भोलानाथ उपाध्यायलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा अदालतबाट २० वर्ष कैद फैसला भई विगत ११ वर्षदेखि फरार रहेका भोलानाथ भारतको मुम्बईमा लामोसमय लुकीछिपी बसिरहेकोमा केही समयदेखि कपिलवस्तु नगरपालिका–१ प्रशासन चोकमा डेरा लिई लुकिछिपी बसिरहेका छन् भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
२०६७ असोज ३१ गते साँझ कपिलवस्तु साबिक भलवारी गाबिस–८ सानो भलवारीमा मेला हेर्न गएका साबिक उदयपुर गाबिस–७ बस्ने मुनिम भन्ने सिताराम पासीलाई छेदी यादव, हरिहर कुर्मीले भोलानाथमार्फत् अन्य २ जना व्यक्तिहरूलाई १ लाख रुपैयाँ दिई गोली प्रहार गरी हत्या गराएको घटनामा अदालतले उनीहरूउपर उक्त फैसला गरेको थियो । छेदीलाई २०६८ भदौ ४ गते र हरिहरलाई २०६८ असोज २४ गतेनै प्रहरीले पक्राउ गरेको थियो ।
भोलानाथलाई जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको तथा अन्य २ जना फरार प्रतिवादीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया