ताजा अपडेट »

निलम्बन फुकुवाका लागि प्रमुख सर्त पूरा : आइसिसी

मंगलबार, १४ असोज २०७६

असोज १४,
काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का उपाध्यक्ष इमरान ख्वाजाले शनिबार सम्पन्न नेपाल क्रिकेट संघको चुनावले क्यानको सदस्यता पुनस्र्थापना गर्नका लागि प्रमुख सर्त पुरा भएको बताएका छन्।

मंगलबार आइसिसीले जारी गरेको विज्ञप्तिमा ख्वाजाले अब अर्को महिना दुबईमा बस्ने आइसिसी बोर्ड बैठकले अर्को कदम चाल्ने बताएका छन्। ‘नयाँ निर्वाचित कार्यसमिति आएको छ। अब नेपाली क्रिकेटले मैदानमा जस्तै मैदानबाहिर पनि प्रगति गर्नेमा विश्वस्त छु,’ ख्वाजाले भनेका छन्, ‘नेपालको आइसिसी सदस्यता पुनस्र्थापनाका लागि प्रमुख सर्त पूरा भएको छ र अर्को महिना दुबईमा बस्ने आइसिसी बोर्ड बैठकमा हामी थप छलफल गर्नेछौं।’ साढे तीन वर्षअघि आइसिसीले सरकारी हस्तक्षेप र स्वच्छ र निष्पक्ष चुनाव नभएको भन्दै क्यानको सदस्यता निलम्बनमा राखेको थियो। त्यसपछि साढे तीन वर्षको माथापच्चीपछि गत शनिबार काठमाडौं सम्पन्न क्यानको विशेष साधारणसभाले चतुरबहादुर चन्दको प्यानललाई भारी मतले निर्वाचित गरेको थियो।

‘काठमाडौंमा भएको घटनाक्रमबाट हामी खुसी छौं। जुन आइसिसी नेतृत्वले प्रशासन सुधारका लागि तीन वर्षसम्म गरेको प्रकृयाको चरम सिमा हो,’ ख्वाजाले भनेका छन्, ‘यसले नेपाली क्रिकेटलाई एकताबद्ध बनाएको छ।’ आइसिसीले क्यानको चुनावलाई ऐतिहासिक कोशेढुंगा भनेको छ। ‘नेपाली क्रिकेटका सरोकारवाला, खेलाडी, समर्थक, प्रशासनलगायत सरकार र राष्ट्रिय खेलकुद परिषद्लाई यो ऐतिहासिक कोशेढृुंगा स्थापित गरेकोमा बधाई छ,’ ख्वाजाले भने, ‘क्यानको विधान निर्माण गर्न र जिल्ला, प्रदेश हुदै केन्द्रसम्मको चुनाव सम्पन्न गरेकोमा सल्लाहकार समूह र स्वतन्त्र समूहप्रति आभारी छु।’ आइसिसीले यो बीचमा नेपाली क्रिकेट टोलीले ठुलो फड्को मारेको जनाएको छ। क्यान निलम्बनमा रहे पनि नेपाली टोलीलाई खेल्न दिने आफूहरुको निर्णय सही सावित भएको आइसिसीले जनाएको छ। ‘यो बीचमा नेपालको पुरुष टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ। महिला टोलीले आइसिसी छनोट प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरेको छ,’ ख्वाजाले भनेका छन्, ‘यो प्रगतिबाट बोर्डले नेपाली टोलीलाई खेल्न दिने भनी गरेको निर्णय सही सावित भएको छ।’