ताजा अपडेट »

सभामुख महराको राजीनामासँगै प्रहरीले थाल्यो अनुसन्धान

मंगलबार, १४ असोज २०७६

असोज १४,
काठमाण्डौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएसँगै प्रहरीले अनुसन्धान शुरु गरेको छ। सभामुख महरामाथि संघीय संसद सचिवालयमा काजमा कार्यरत एक महिलाले जबर्जस्ती करणीको आरोप लगाएपछि मंगलवार सभामुखले राजीनामा दिएका थिए। स्वास्थ्य सेवामा दरबन्दी भई सचिवालयमा काजमा रहेकी ती कर्मचारीले आइतवार राति आफ्नै कोठामा आएर 'मदिराको मातमा' सभामुख महराले जबर्जस्ती गरेको आरोप लगाएकी हुन्।

आइतवार नै महिलाको मौखिक जानकारीपछि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको टोलीले कोठामा पुगेर तस्बिर तथा प्रारम्भिक जानकारी लिएको प्रहरीले लिखित उजुरी नआएको भन्दै अनुसन्धान गरेको थिएन। मंगलवार सभामुखको राजीनामा आएसँगै प्रहरीले महिलाको कोठामा पुगेर अनुसन्धान शुरु गरेको हो। 'हामीले अनुसन्धान शुरु गरिसकेका छौं। जानकारी आएपछि नै प्रहरी घटनास्थल पुगेको थियो', महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले भने।

प्रहरीले महिलाको कोठामा पुगेर रक्सीको बोतल, सभामुखको भनिएको चस्मा लगायतको सबुत प्रमाण हुनसक्ने सामाग्रीहरु संकलन गरेको छ। अहिलेसम्म महिलाको उजुरी नआएको प्रहरीले जानकारी दिएको छ। 'उहाँको लिखित उजुरी आए अनुसन्धानमा थप मद्दत पुग्ने छ', एसएसपी सुवेदीले भने।