असोज १४,
काठमाण्डौं । जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा चीनमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्। रक्तपातपूर्ण गृहयुद्धमा कम्युनिस्ट शक्ति विजयी भएपछि सन् १९४९ अक्टोबर १ तारिखमा माओत्सेतुङले जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेका थिए।
त्यसयता आधुनिक चीनले असाधारण गतिले विकास गरेको छ। तर यो विश्वका धेरै अवरोधहरू भएका मुलुकमध्ये एउटा हो। चीनको राजधानी बेइजिङमा हालसम्मकै विशाल सैन्य परेड भइरहेको छ। एउटा छोटो उद्घाटन सम्बोधनमा चीनका राष्ट्रपति सी जिन्पिङले भने, "कुनै पनि शक्तिले चिनियाँ र राष्ट्र (चीन)लाई अघि बढ्नबाट कहिल्यै पनि रोक्न सक्नेछैन।" ट्याङ्क, क्षेप्यास्त्र प्रक्षेपण गर्ने मिसाइल लन्चर र अन्य सैनिक सामग्रीसहित १५ हजार सैनिकहरू मध्यबेइजिङको तियानआन्मेन स्क्वाएरमा भेला भएका छन्।
तर मङ्गलवारको कार्यक्रमलाई हङ्कङमा जारी प्रदर्शनले छायामा पार्न सक्ने खतरा बढाइदिएको छ। हङ्कङको समाज र राजनीतिमा बेइजिङको बढ्दो नियन्त्रणको विरोधमा उनीहरूले प्रदर्शन गरिरहेको बताउने गरेका छन्। प्रहरीले त्यसबारे विश्वसनीय जासुसी सूचना पाएको दाबी गरेको छ। उक्त सूचनामा अभियानकर्ताहरूले हिंसात्मक घटनाको तयारी गरिरहेको र त्यस क्रममा रेल स्टेशन र पसलहरूमा आगजनी गर्ने कुरा रहेको जनाइएको छ। मङ्गलवार बिहान हङ्कङ ठप्प थियो। त्यहाँ झन्डै छ हजार सुरक्षाकर्मी परिचालित भएका छन्। धेरै मेट्रो स्टेशन र शपिङ सेन्टरहरू बन्द रहेका छन्। बेइजिङको कार्यक्रममा राष्ट्रपति सीको उपस्थितिमा वायुसेनाको विमानहरू उडाइएको थियो। विश्वकै सबैभन्दा लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्र पनि प्रदर्शन गर्ने विवरण आएका छन्।
प्रतिक्रिया