ताजा अपडेट »

दलित अधिकारका लागि संविधान कार्यान्वयनमा जोड

सोमबार, १३ असोज २०७६

असोज १३,
बुटवल । दलितका पक्षमा संबिधानमा व्यवस्था भएका अधिकारहरु कार्यान्वयन गराउनेतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जागरण मिडिया सेन्टरद्वारा सोमबार बुटवलमा आयोजित ‘प्रदेश नं ५ को विधेयक तथा बजेटमा समाशिकरणको अवस्था’ बिषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य कमलादेबि बिकले अहिले ऐन कानून बनाउने क्रममा रहेकोले दलितमैत्री कानून निर्माणमा चनाखो हुनुपर्ने बताउँदै दलितका अधिकार स्थापित गराउन सँगठित रुपमा आवाज उठाउन जरुरी रहेको बताइन् । कतिपय दलित अभियन्ताहरुले अब दलित शब्द राख्नु हुदैन भन्ने गरेको भन्दै उनले दलित भएकोमा गर्व गर्न सक्नुपर्ने बिचार व्यक्त गरिन् । प्रदेशसभा सदस्य दिपा बिश्वकर्माले दलितको क्षेत्रमा छुट्टिएको बजेट लक्षित बर्गसम्म कसरी पुर्याउने भन्ने बिषयमा छलफल जरुरी रहेको बताइन् । प्रदेशसभा सदस्य माला गोतामे सुनारले बजेट समावेशि नभएको बताउँदै प्रदेश सरकारसँग आफुले तिन वटा योजना प्रस्ताव गरेकोमा तिन वटै योजना नपरेको गुनासो गरिन् । संबिधानसभाकी सदस्य दुलारी हरिजनले संबिधानमा दलितका सबै अधिकार नसमेटिए पनि जति अधिकार छन् ति अधिकार कार्यान्वयनमा आए धेरै परिवर्तन हुने भन्दै कार्यान्वयन गराउनेतर्फ ध्यान दिन जरुरी रहेको बताइन् । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज बिश्वकर्माले संविधानमा दलितका धेरै अधिकार स्थापित भए पनि कार्यान्वयनमा नआउँदा समस्या परेको भन्दै कार्यान्वयनमा सबै चनाखो हुनुपर्ने बताए ।

जागरण मिडिया सेन्टरका कार्यवाहक अध्यक्ष कमला बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा मानव अधिकारकर्मी रिमा बिसी, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एच बि रम्तेल, नेपाल दलित संघका अध्यक्ष बुद्धिराम हरिजन, सृजनसिल सहयात्री संस्थाका हस्त हिताङ्ग, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, दलित अभियन्ता मनु खड्का, पत्रकारहरु बिनोद परियार, सञ्जय बिश्वकर्मा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।