ताजा अपडेट »

पाकिस्तान सेमिफाइनलमा, अष्ट्रेलियासँग भेट पक्का

सोमबार, २२ कार्तिक २०७८

काठमाडौँ । पाकिस्तान आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेको छ । आइतबार राति भएको सुपर १२ अन्तर्गत समूह २ को अन्तिम खेलमा पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गरेको हो । 

शारजाह क्रिकेट स्टेडियममा जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १७ रनमै समेटिन पुग्यो । स्कटल्यान्डका लागि रिची बेरिंगटनले सर्वाधिक ५४ रनमा अविजित रहनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र शोएब मलिकले अर्धशतक पारी खेले । आजमले र्वाधिक ६६ रनको योगदान दिए भने मलिकले १८ बलमै ५४ रन बनाएर अविजित रहे । पाकिस्तानबाट टि२० आईमा बनेको यो सर्वाधिक छिटो अर्धशतक हो ।

योसगै सेमिफाइनलको समिकरण बनेको छ । अब पाकिस्तानले फाइनल प्रवेशका लागि बिहीबार सुपर १२ को समूह १ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ भने यसै समूहको उपविजेता न्युजिल्याण्डले समूह १ को विजेता इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।