ताजा अपडेट »

बुढीगंगा जलविद्युत आयोजनाको डिपिआर माथि अध्ययन सुरु

सोमबार, १३ असोज २०७६

असोज १३,

अछाम । अछाममा निर्माण हुने भनिएको २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएर प्रतिवेदनमाथि अध्ययन सुरु भएको छ। आयोजनाको विस्तृत इन्जिनियरिङ्ग डिजाइन र वातावरणीय प्रभाव मुुल्याङ्कनको जिम्मेवारी पाएको अन्र्तराष्ट्रिय परामर्शदाता स्मेक र काठमाडौंका उदय जेभीले एकहप्ता अगाडि आयोजना कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

आयोजनाकी प्रवक्ता इन्जिनियर पुनम पाण्डेयले परामर्शदाता कम्पनीले एकहप्ता पहिले प्रतिवेदन बुझाएकोमा अहिले अध्ययन भईरहेको बताइन्। उनका अनुसार आयोजनाको उत्पादन क्षमता २० दशमलव २ मेघावाट कायम रहने गरी डिपिआर प्रतिवेदन तयार गरिएको छ। तर लगानी भने थपघट हुनसक्ने देखिएपनि प्रतिवेदन अध्ययनकै चरणमा रहेकाले अहिले नै यकिन भईनकेको पाण्डेयले बताईन्। प्रारम्भिक अध्ययन अनुसार डिपिआरमा केही त्रुटि देखिएको छ। तर ती त्रुटिहरु सामान्य भएकाले सच्याउन सकिने पाण्डेयले बताइन्।

सरकारले साउदी विकास कोषले ३ अर्ब २० करोड र कुवेत विकास कोषले १ अर्ब ८० करोड ऋण लगानी गर्ने र बाँकी अपुग रकम नेपाल सरकार आफैले व्यहोर्ने गरी आयोजना निर्माण गर्ने लक्ष्य राखेको छ। चार वर्ष अगाडि १६ महिनाभित्र डिपिआर तयार गर्ने सम्झौता अनुसार काम भएपनि विभिन्न समस्या देखाउँदै परामर्शदाता कम्पनीले ढिलो गरी मात्रै प्रतिवेदन बुझाएको उनले बताइन्।- मोहन जोशी/नेपालन्यूज