ताजा अपडेट »

नेपाल खुला दिसामुक्त, अब भिखारीमुक्त बनाउने होः प्रधानमन्त्री

सोमबार, १३ असोज २०७६

असोज १३,
काठमाण्डौ । नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश घोषणा भएको छ। काठमाडौंमा सोमबार आयोजित विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त देश घोषणा गरेका हुन्।

सरकारले प्रत्येक घरधुरीलाई चर्पीको पहुँचमा पुर्‍याउने मानक पुरा गरेपछि नेपाल खुला दिसामुक्त देश घोषणा गरिएको हो। यससँगै नेपालले पूर्ण सरसफाईसम्बन्धी महत्वपूर्ण लक्ष्य हासिल गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पुरा गरेको छ। त्यसअवसरमा प्रधानमन्त्री ओलीले नेपाल सभ्यता र विकासको एक सिँढीमाथि उक्लिएको बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानले सफलता प्राप्त गर्दै गइरहेको छ, यसलाई निरन्तरता दिनु पर्छ,’– उनले भने। यो घोषणाले सबै नागरिकको स्वास्थ्यमा सुधार हुनुका साथै मृत्युदर घट्ने, औसत आयु बढ्ने र सबैलाई निरोगी हुन सहयोग गर्ने उनले बताए। उनले खुल्ला दिसामुक्त पछि अब नेपाललाई ‘भिखारीमुक्त’ देश बनाउने अभियानमा लाग्ने बताए। घोषणा कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री, जिल्ला समन्वय समिति तथा स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए। सरसफाई गुरुयोजना २०६८ ले २०१७ भित्र देशका सबै घरधुरीमा शौचालय निर्माण गरिसक्ने लक्ष्य लिएको थियो। तर, लक्ष्यअनुसार काम नहुँदा घोषणा गर्न दुई वर्ष ढिला भएको हो।

हाल नेपालभर ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय निर्माण भइसकेको जनाइएको छ। यसअनुसार प्रदेश १ मा ९ लाख ६५ हजार २ सय ७२, प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९, प्रदेश ३ मा १६ लाख २२ हजार १ सय ९३ घरधुरिमा शौचालय बनेका छन्। त्यस्तै प्रदेश ४ मा ५ लाख ४८ हजार २ सय १०, प्रदेश ५ मा ७ लाख ९३ हजार ९ सय ९०, प्रदेश ६ मा ३ लाख ७ हजार ९सय ६५ र प्र्रदेश ७ मा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनिसकेका छन्। नेपालको पहिलो खुलादिसामुक्त जिल्ला कास्की हो। कास्कीलाई २०६८ असार १० गते खुलादिसामुक्त जिल्ला घोषणा गरिएको थियो। घोषणा गरिएको अन्तिम तथा ७७ औं जिल्ला भोजपुर हो। भोजपुरलाई यही असोज ४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो। देशको राजधानी भए पनि काठमाडौं भने गत भदौ ३१ गतेमात्रै खुला दिसामुक्त घोषणा गरिएको थियो।