ताजा अपडेट »

भाटभटेनी सुपर स्टोरमा बहुतले स्मार्ट पार्किङ

आइतबार, २१ कार्तिक २०७८

बुटवल । नेपालकै सबैभन्दा ठूलो सुपर स्टोर भाटभटेनी सुपर मार्केटले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा बहुतले स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको छ । स्मार्ट पार्किङको आइतबार एक कार्यक्रमका बीच भाटभटेनी सुपर स्टोरका सञ्चालक मिनबहादुर गुरुङ्ले सुभारम्भ गरेका हुन् ।

पार्किङमा एकै पटक ४४ गाडी पार्किङ गर्न सकिने स्टोरका चिफ अपरेटर अफिसर पानु पौडेलले बताए । गाडीलाई पार्किङको तल्लो भागमा पु¥याए पछि स्वचालित रुपमा माथिल्लो तलामा गएर बस्ने छन् भने तल लिनका लागि कार्ड स्वाइप गरे पुग्ने सकिने चिफ अपरेटर अफिसर पौडेलले बताए। सो पार्किङ ७ करोड बराबरको लगानीमा निर्माण भएको र पार्किङ गर्नका लागि कुनै शुल्क नलाग्ने पौडेलले बताए ।

भारतको ओमेगा इन्जिनियरिङले निर्माण गरेको सोे पार्किङ २५ मिटर अग्लो छ । पार्किङका लागि विभिन्न प्रविधि उपलब्ध रहेकोमा भाटभटेनीमा पार्किङका लागि भर्टिकल लिफ्टिङ पार्किङ सिस्टम अर्थात टावर पार्किङको प्रयोग गरिएको छ । कार पार्किङ गर्न आउने ग्राहकलाई एउटा कार्ड उपलब्ध गराइने छ । सोही कार्डमार्फत नै गाडीलाई पार्किङ गर्ने र फेरि निकाल्नका लागि आवश्यक कार्य गरिने चिफ अपरेटर अफिसर पौडेलले बताए ।

साथै भाटभटेनीका स्टोरमा पार्किङको समस्या भएका सबै स्थानमा बिस्तारै स्मार्ट पार्किङको निर्माण गर्ने तयारी रहेको पौडेलले बताए । भारतका विभिन्न स्थानमा यस्ता भर्टिकल पार्किङ निर्माण गरिसकेको ओमेगा इन्जिनियरिङले नेपालमा भने पहिलो पटक यस्तो प्रविधिको पार्किङ निर्माण गरेको हो ।