ताजा अपडेट »

शहरका पोलमा थुप्रदै काम नलाग्ने तार, कुरुप बन्दै शहर

आइतबार, २१ कार्तिक २०७८

काठमाडौं। जोरपाटीको सुन्दरटोलमा १० वर्ष अघि ग्राहकको सेवाका लागि पोलमा टाँगिएको इन्टरनेटको तार झिकिएको छैन । कोठा भाँडामा बस्ने ग्राहकले इन्टरनेट जडान गरेपनि उनीहरु सात वर्ष अघिनै डेरा सरेर गई सके पनि तार भने अझै नझिकिएको घरवेटी पेम्वा शेर्पाले बताए । उनको घरनजिकै रहेको विजुलीको पोलमा थेग्नै नसकेन गरी इन्टरनेट र केवल टेलिभिजनको तार टाँगिएको कारण पोल बाङगिएको छ । तर अझैप नि तार टाँगिने क्रम नरोकिएको शेर्पाले बताए।

काठमाडौं उपत्यकाभित्र पोलमा देखिने यस्ता तारका गुजुल्टामा २० प्रतिशतले मात्र काम गर्ने बाँकी तार भने पुरानो काम नलाग्ने रहेको स्थानीयबासीहरुको भनाइ छ । इन्टरनेट र केवल टेलिभिजन कम्पनीले एक पटक टाँगेको तार पुनः उठाउने नगरेको स्थानीयहरुको आरोप छ । बिजुलीको पोलमा भएको तार मध्ये पाँच प्रतिशत बिजुलीको र बाँकी ९५ प्रतिशत अन्य सेवाप्रदायक कम्पनीको भएको विद्युत प्राधिकरणले जनाएको छ । यस अघि पोलमा टाँगिएको गुजुल्टा तारको भाडा नबुझाएको भन्दै विद्युत प्राधिकरणले भने तार काट्न शुरु गरेको थियो । माथिल्लो निकायकै निर्देशनमा फेरि तार काट्ने क्रम रोकिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

प्राधिकरणले भाडा असुल्ने भन्दा पनि सुन्दर शहरका लागि कल्पना गरेर अभियान शुरु गरेका हौं तर उपल्लो निकायले यस बारेमा बुझ्न सकेन घिसिङले बताए । विद्युत प्राधिकरणले पोल रहित सेवा दिने गरी कार्ययोजना बनाएर काम शुरु गरेको बताउँदै यी इन्टरनेट र केवल टेलिभिजन लगायतका कम्पनीले पनि यस विषयमा गम्भिर भएर सोच्नु पर्ने समय आएको उनको सुझाव छ । तत्कालै पोलमा टाँगिएको तारलाई काम लाग्ने र नलाग्ने गरी व्यवस्थापन गर्नुपर्छ र त्यस पछि दिगो व्यवस्थापनमा सोच्नुपर्छ अन्यथा देशकै प्रतिष्ठामा आँच पुग्ने गरी सुन्दर शहरको रुप कुरुप बन्ने क्रम नरोकिने उनले बताए।

तारसँगै काठमाडौं लगायतका मुख्य शहरहरु दृष्य प्रदूषणले झन् कुरुप बन्दै गएको छ । सम्पदाको हवको रुपमा मानिने सांस्कृतिक सुन्दरताको काठमाडौं शहर हिजोआज जाताततै टाँसिएका पर्चा, पम्प्लेट, होडिङ्गबोर्ड र तारले कुरूप बनेको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले घुम्नै पर्ने संसारका १० शहर मध्ये काठमाडौंलाई पनि सूचीमा राखे पनि कुरुप दृश्यहरुले प्रदूषित बने पछि उपत्यकाको सक्कली रुपनै मेटिदै गएको छ ।

इन्टरनेट कम्पनीहरुले तारको व्यवस्थापन गर्ने पक्षमा कुनै सोच नभएको वल्र्डलिंक इन्टरनेट कम्पनीका एक कर्मचारीले बताए। पोलको भाडा तिरेपछि विद्युत प्राधिकरणलेनै तारको व्यवस्थापन गर्नु पर्ने समेत उनले जिकिर गरे । काठमाडौं उपत्यकाले स्मार्ट शहर निर्माणमा तारका गुजुल्टाले बाँधा पु¥याएको भन्दै विद्युत प्राधिकरण र इन्टरनेट कम्पनीहरुलाई व्यवस्थापन गर्न निर्देशन दिई सकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान ढंगोलले जानकारी दिए ।

काठमाडौं उपत्यका भित्रको मात्र सात वटा सम्पदा लाई युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत गरेको छ । एउटै शहरको धेरै सम्पदाहरु सूचीकृत हुने काठमाडौं मात्र एक शहर हो, त्यसैले विश्वले काठमाडौं शहरलाई महत्वका साथ हेर्न आउने गरेका छन् । विदेशी पर्यटक प्रमुख गन्तव्य काठमाडौं उपत्यकामा अनियन्त्रित रुपमा जाताततै तार, पर्चा पम्प्लेट र होडिङ्गबोर्ड टाँसिने क्रम भने नियन्त्रणमा नआए पछि पछिल्लो समय झन् कुरुप बन्न थालेकोे उपत्यकाबासी तथा वातावरणविद् भुषण तुलधारले बताए। सरकारले तार व्यवस्थापनको दिगो उपाय अपनाउनमा ढिलाइ गर्न नहुने उनको सुझाव छ । अव्यवस्थित रुपमा टाँगिएका विद्युत, टेलिफोन र इन्टरनेटका तार शहर कुरुप बनाउनुको मुख्य कारक बनेको उनीको बताउँछन् ।

यस अघि दृश्य प्रदूषण नियन्त्रण गर्न सर्वोच्चमा परेको रिटमा २०७२ भदौ १६ गते तत्काल नियन्त्रण गरी नियमन गर्न सरकारलाई परमादेशसमेत जारी भएको थियो । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको उक्त रिटमा विपक्षी काठमाडौ महानगरपालिका, वातावरण, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौलाई तत्काल दृश्य प्रदूषण हटाउन परमादेससमेत दिएको थियो । दृश्य प्रदूषण गरे कानुनतः नगरपालिकाले १५ हजार जरिवाना गर्न सक्ने व्यवस्था छ । सर्बोच्चको नेपाल कानुन पत्रिकाको २०७३ को अंक ४ को पृष्ठ ६८८ मा फैसला प्रकाशन गरिसकेको छ । सर्वोच्चको फैसला कार्यन्वयन शाखाले सरकारलाई दुई पटक पत्रचारसमेत गरीसकेको जनाएको छ तर सम्वन्धित निकायले चासो नदिँदा प्रदूषणको रुप झन् बढ्दो रहेको छ ।