ताजा अपडेट »

नागढुङ्गामा अब जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस: ट्राफिक प्रहरी

आइतबार, १२ असोज २०७६


असोज १२,
काठमाण्डौं । केही दिनअघि काठमाडौँको नागढुङ्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाइन् । सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि सरकारले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिनुप¥यो । त्यो देख्दा यसपालिको दशैँ सास्तीमै बित्ने त होइन भन्ने आशङ्का भइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त पारेको छ ।

आईतबार कुरा गर्दै, ‘आज बिहानको अवस्था भन्नुपर्दा नागढुङ्गामा सबै सहज छ, गाडी क्युमा समेत छैन, अब ढुक्कसँग यात्रा गर्दा हुन्छ, कुनै अकल्पनीय घटनाबाहेक समस्या हुने छैन’, महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले भने । उनका अनुसार अब विस्तारै उपत्यकाको चाप घट्दो क्रममा छ । खुसी र उमङ्गको चाड बडादशैँ आतबारदेखि औपचारिक रुपमा शुरु भएको हो । यो उमङ्ग तबसम्म रहिरहन्छ, जबसम्म नेपाली सहज रुपमा आ–आफ्नो घरसम्म पुग्न सक्छन् । त्यो अवस्थामा पुर्याउनका लागि ट्राफिक प्रहरी अहोरात्र खटिएको छ भन्छन्, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल । ट्राफिक प्रहरीका अनुसार अघिल्लो हप्ता केही दिन नियमित वर्षा भयो । नागढुङ्गा तलको ढलान गरिएको सडकमा गाडी चिप्लिएर रोकिए, त्यही समयमा केही गाडीहरु बिग्रीदा यात्रुले जामको समस्या झेल्नुपर्यो । रातभरको प्रयाससमेत सफल नहुँदा उत्पन्न समस्या शनिबारबाट भने हटेको प्रहरीले दाबी गरेको छ ।

महाशाखाका प्रमुख ढकालले यो क्षेत्रमा ४० भन्दा बढी प्रहरी खटाइएको र गाडी तान्ने दुई वटा र्याकारसमेत तयारी अवस्थामा राखिएको जानकारी दिनए । उक्त र्याकारको ४० टनसम्मका गाडी तान्ने क्षमता छ । यातायात सहज पार्न महाशाखाले प्रहरी निरीक्षककै नेतृत्वमा १० जना छुट्टै ट्राफिक प्रहरी खटाएको छ । यस्तै आठ जना ट्राफिक प्रहरी मोटरसाइकल गस्तीमा सक्रिय छन् । उनीहरुले उक्त सडकमा ओभरटेक गर्न नदिने र ओभरटेक गरेमा तत्कालै कारबाही गर्नेछन् । धादिङबाट समेत प्रहरी परिचालन गरिएको छ । आइतबारबाट अत्यावश्यक सामान बोकेका बाहेक ठूला लहरी तथा ट्रकहरुलाई सात दिनका लागि आवागमन रोकेको प्रहरीले जनाएको छ । –रासस