उत्तरप्रदेश । भारतको उत्तर प्रदेशको मुरादाबादमा बलिउड स्टार सलमान खानका बडीगार्ड रहिसकेका युवकले औषधीको ओभरडोज लिएपछि शहरमा उत्पात मच्चाए । युवकले गाडीहरु तोडफोड गरे र बाटोमा हिँडिरहेका बटुवाहरुलाई रामधुलाइ कुटे । शरीर ठूलो र बलियो भएका कारण उनलाई नियन्त्रण गर्न गएको पुलिसको समेत पसिना छुट्यो । अन्ततः उनलाई पशुलाई झैं जालमा फसाएर समात्नुपर्यो ।
यी युवक अनस कुरैसीले बिहीबार बिहान घरबाट निस्किएपछि बाटोमा जो भेटियो उसैलाई कुट्न थालेका थिए । पहिले अनसले एक शिक्षकलाई कुटे त्यसपछि केही स्कूले बालबालिकाको आइडी कार्ड खोलेर आफ्नो घाँटीमा भिरे । त्यसपछि उनले एक वृद्धलाई रोकेर कुट्न थाले । अनसले बाटोमा आएका गाडीलाई रोक्दै तोडफोड गर्न थाले । अनसको यस्तो रुप देखेर मानिसहरु डराए । सडकमा भागाभाग भयो । मानिसहरु पसल बन्द गरेर भाग्न थाले । मानिसहरुलाई कुटेपछि अनसले गाडीहरु तोडफोड गर्न थालेका थिए ।
उनले एक प्रहरीको समेत मोटरसाइकल पनि तोडफोड गरिदिए । त्यसपछि पुलिस चौकीमा यसबारे खबर पुग्यो । घटनास्थल पुगेको प्रहरी बल समेत अनसको रौद्र रुप देखेर डरायो र थानाबाट थप पुलिस बल मगाइयो । यति हुँदा पनि अनसलाई नियन्त्रण गर्न हम्मे हम्मे भयो । अन्ततः प्रहरीले अनसलाई जालमा फसाएर समातियो । प्रहरी उप निरीक्षक राशिद खानका अनुसार अनसलाई हात खुट्टा बाँधेर जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई बरेलीको अस्पताल पठाइएको थियो । प्रहरीका अनुसार अनसले कुनै औषधीको सेवन गरेका थिए जसको ओभरडोज भएपछि उनी बाटोमा कुटपिट र तोडफोड गर्दै हिँडेका थिए । -एजेन्सी
प्रतिक्रिया