ताजा अपडेट »

आयातीत सामानबाटै तिहारको रमझम

विहीबार, १८ कार्तिक २०७८

काठमाडौँ। तिहार सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । काठमाडौँको इन्द्रचोक, भोटाहिटी, असन, महाबौद्ध, नयाँ सडक, बानेश्वर, ललितपुरको लगनखेल, जाउलाखेललगायतका व्यापारिक केन्द्रमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको चहलपहल ह्वात्तै बढेको हो । तिहारका सामान किन्नेको भीड बढेसँगै सामानको मूल्य पनि मनलाग्दी छ । तिहारमा विशेषगरी लक्ष्मी पूजा गर्दा चाहिने दियो तथा पाला, दाजुभाइ पुज्नका लागि भाइमसला, ओखर तथा ढाका टोपी, दीपावली गर्न मैनबत्ती र झिलिमिली बत्तीको कारोबार हुन्छ ।

भाइमसला
भाइमसला नरिवल, काजु, किसमिस, बदाम, ओखर आदि मिसाएर बनाइएको हुन्छ । भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइका लागि भाइमसला दिने गरिन्छ । दाजुभाइलाई दिने भाइमसला नरिवल, बदाम, ओखर नेपालमै फलाउन सकिने भए पनि भारतमै भर पर्नुपरेको छ । देशी बदाम, काजु, पेस्ता, छोकडा, किसमिस, सप्तरङ्गी टीका र सयपत्री फूल पनि भारतबाट आयात हुँदै आएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भाइमसलाको भाउ गत वर्षको तुलनामा यो वर्ष काजुु, छोकडा, खुुर्पानीको भाउ बढे पनि किसमिस, पेस्ता, छोकडा, देशी बदाम, ओखर, सुुकमेल भने घटेको देखिएको छ ।

दियो तथा पाला
लक्ष्मीपूजाका दिन लहरै बालिने दियो तथा पाला काठमाडौँ उपत्यकामै बन्थ्यो र यसको माग पनि यहीँकोले धान्दै आएको थियो तर विगतका केही वर्षदेखि दिगो पालाको बजार पनि चिनियाँ व्यापारीले लिन थालेका छन् । हेर्दै आकर्षण देखिने दियो बजारमा ल्याएर नेपाली दियो तथा पालालाई नै ओझेलमा परेको असनका पुराना व्यापारी दिलबहादुर थापाले बताए । उनका अनुसार पाँच/छ वर्षअघिसम्म तिहारमा चाहिने सामग्रीमध्ये दियो तथा पाला मात्रै भए पनि स्वदेशी उत्पादनले धानिरहेको थियो तर अहिले नेपाली उत्पादनभन्दा पनि चिनियाँ उत्पादनले बजार लिन थालेको छ ।

फूलको माला
दाजुभाइलाई लगाइदिने र घरमा समेत माला बनाएर सजाइने भएकाले अरू समयको तुलनामा तिहारमा फूलको माला धेरै खपत हुन्छ । स्वदेशी उत्पादनले मात्र धान्न नसकेपछि तिहारमा भारतबाट तीन लाखभन्दा बढी सयपत्री फूलको माला आयात हुँदै आएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान)का अध्यक्ष मीनबहादुर तामाङले यो वर्ष भारतबाट साढे दुुई लाख मात्रै सयपत्री फूूल ल्याउने भनिएकामा तीन लाखभन्दा बढी पहिले नै भित्यारइएको बुधबारको बजारको अवस्थाले देखाएको जानकारी दिए ।

हरेक वर्ष फूलको माग १० देखि १५ प्रतिशत बढ्ने भए पनि यो वर्ष भने अनुुमान गरेभन्दा बढी फूलको खपत हुने देखिएको फ्यानका अध्यक्ष तामाङले बताए । उनले भने, “बुधबार बजारको अवस्था बुुझ्दा फूूलको भाउ घटेको र भाउ घटेसँगै यसअघि हामीले अनुुमान गरेभन्दा डेढ लाख बढी सयपत्री फूलका माला खपत हुने देखिएको छ । ” फ्यानले यसअघि यो पटक सयपत्री साढे १५ लाख र साढे दुुई लाख मखमली र गोदावरी माला खपत हुने अनुुमान गरेको थियो । यो वर्ष दुई अर्ब ५० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ भने झन्डै १८ करोड रुपियाँ बराबरको फूलको कारोबार तिहारमा मात्रै हुने अनुमान फ्यानले गरेको छ ।

ढाकाटोपी
तिहारमा ढाकाटोपीको बिक्री पनि फस्टाउँदो छ । बजारमा पाल्पाली र पूर्वेली ढाकाटोपी प्रख्यात छन् । यी ढाकाका लागि पनि भारतको गोरखपुरबाट कच्चा पदार्थ आयात गर्नुपरेको टोपी व्यापारी रामहरि घिमिरेले बताए । “भारतको गोरखपुरबाट कच्चा पदार्थ ल्याएर पाल्पामा बुनिन्छ, त्यहाँ बुनेको ढाका बालाजुमा रहेको कारखानामा सिलाएपछि बजारमा आउँछ,” घिमिरेले बताए। उनका अनुसार प्रतिपिस ५० रुपियाँँदेखि एक हजार ५०० रुपियाँसम्ममा टोपी बेच्न राखिए पनि तिहारमा २५० रुपियाँ पर्ने टोपी धेरै बिक्री भइरहेको छ ।

इलेक्ट्रिक बत्ती र दियो
बजारमा इलेक्ट्रिक बत्ती र दियो पनि बेच्न राखिएका छन् । ती झिलिमिली बत्ती र इलेक्ट्रिक दियो चीनबाट आयात हुन्छ । बिजुलीमा जडान गर्नसाथ झिलिमिली बल्ने बत्ती र कागज तथा प्लास्टिकका फूल पनि उतैका हुन् तर बिजुली हुँदा मात्र बल्ने भएकाले धेरैले माटाका दियो र पाला नै खोज्ने गरेका असनका व्यापारी रामेश्वर महर्जनले बताए ।

मैनबत्ती
लक्ष्मी पूजाका दिन कतिले घरको चारैतिर मैनबत्ती बालेर दीपावली गर्छन् । मैनबत्ती देशभित्रै बनाए पनि कच्चा पदार्थ भने भारतबाटै आयात हुने गरेको व्यापारी श्याम बोहोरा बताउनुुहुन्छ । चाडपर्वका बेला नेपाली बजार चम्किएको देखिए पनि सरसामानका लागि अर्बौं रुपियाँ देशबाहिर गइरहेको हुन्छ । हामीलाई आवश्यक पर्ने स–साना सामानसमेत नेपालमा उत्पादन नहुँदा चाडपर्वकै बेला सबैभन्दा बढी रकम देशबाहिर जाने गरेको जानकारहरू बताउँछन् ।