ताजा अपडेट »

भैरहवामा 'चित्रांश कप-२०७८' हुँदै

बुधबार, १७ कार्तिक २०७८

भैरहवा । चित्रांश परिवारबीच आपसी भाइचारा स्थापित गर्ने र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य सहित भैरहवामा 'चित्रांश कप-२०७८' हुने भएको छ । प्रतियोगिता कार्तिक १९ गते भैरहवाको सिद्धार्थ रंगशालामा आयोजना हुने आयोजकले जानकारी गराएका छन् । चित्रांश युथ क्लबको आयोजना तथा चित्रगुप्त युवा सेवा समिति भैरहवाको सहयोगमा कार्यक्रम हुने भैरहवामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिए । प्रतियोगितामा ४ वटा टिमको सहभागिता हुने र १२ ओभरको खेल नकआउट माध्यमबाट खेलाईने चित्रांश युथ क्लबका अध्यक्ष सौरभ लाभले जानकारी दिए ।

लाभले प्रतियोगितामा रोयल नाइट्स, व्रेभ वारियर्स, चित्रांश सुपर किंग्स र कायस्थ नाइट राइडर्सको गरी चार वटा टिमबाट ५२ जना खेलाडीको सहभागिता रहने बताए । जसअन्तर्गत रोयल नाइट्सको कप्तानमा धिरज मल्लिक, वेभ वारियर्सको कप्तानमा अमित श्रीवास्तव, चित्रांश सुपर किंग्सको कप्तानमा दीपक मल्लिक र कायस्थ नाइट राइडर्सको कप्तानमा मनिष चौधरी रहेका छन् । प्रतियोगिता गर्न २ लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिए । प्रतियोगितामा चित्रांश परिवारका १५ वर्षदेखि ५५ वर्ष उमेर समूहका व्यक्ति सहभागि हुन सक्ने लाभको भनाइ छ । आइसीसी नियम अनुसार नै प्रतियोगिता सञ्चालन हुने आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलनमा बोल्दै चित्रगुप्त युवा समितिका अध्यक्ष रत्नेश मल्लिकले चित्रांश युवाहरुलाई कुलतबाट टाढा राख्न र बिभिन्न खेलहरुमा सक्रिय गराउने उद्देश्य पनि कार्यक्रमको रहेको बताए । उनले आजका युवाहरु खेलहरुमा सक्रिय र उनिहरु शारिरीक रुपमा मात्र नभई मानसिक रुपमा समेत स्वास्थ्य हुने भएकोले चित्रांश युथ क्लबले गत बर्ष देखी प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

प्रतियोगितामा विजेतालाई रनिंग ट्रफी, म्यान अफ द सिरिज, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, मोस्ट सिक्सेज, म्यान अफ द म्याच, गोल्ड म्याडल्स, सिल्भर म्याडल्स र सहभागि सबैलाई प्रमाणपत्र प्रदान गरिने उनले बताए । चित्रगुप्त युवा सेवा समितिका सचिव विवेकानन्द मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । २०७७ साल असोजमा स्थापना भएको चित्राशं युथ क्लबमा १५ जना सदस्य आबद्ध छन् ।