ताजा अपडेट »

पुष्प व्यवसायमा रुपन्देहीका पुराना र नयाँ पुस्ता

बुधबार, १७ कार्तिक २०७८
1 Shares

बुटवल । सुरुमा ‘फूल खेती गर्छु’ भन्दा परिवारका सदस्यले पनि विश्वास गरेका थिएनन्, तिलोत्तमा–५ टिकाभवन चोकका रमेश पाण्डेलाई । परिवारको अविश्वास र असहयोगका बावजूद दुई दशक अघि सामान्य रुपमा फूल खेती सुरु गरेका पाण्डे अहिले लुम्बिनी प्रदेशका नमूना पुष्प व्यवसायी हुन् ।

‘२०५७ सालमा फूल खेती सुरु गर्छु भन्दा कसैले पनि विश्वास गरेका थिएनन् ।’ पाण्डेले भने ‘सुरुमा घरको वरीपरि फूल लगाउने गरिन्थ्यो’ पाण्डेले पुष्प व्यवसायबाट अहिले नाम र दाम दुबै कमाएका छन् । उनी हाल नर्सरी तथा पुष्प उत्पादक किसान संघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका इन्चार्ज हुन् भने लुम्बिनी पुष्प व्यवसाय संघ लुम्बिनी प्रदेशका संयोजक र रुपन्देही अध्यक्ष समेत हुन् । अहिले पाण्डेको तिलोत्तमामा लुम्बिनी नर्सरी एण्ड गार्डेन छ । उनको ३ कट्ठा क्षेत्रफल बराबरको जग्गामा फूलैफूल छन् । सो नर्सरीमा अहिले लाखौँ बराबरको लगानी रहेको उनी बताउँछन् । नर्सरीमा वार्षिक १५ हजारसम्म फूलका विरुवा उत्पादन हुने गरेको बताए ।

तिहार नजिकिँएसँगै सयपत्री फूल खोज्नेहरु पनि बढेको र फूलको माग बढी रहेको पाण्डे बताउँछन् ।‘समय परिर्वतनसँगै अहिले अन्य समयमा पनि फूलको माग हुने गरेको छ ।’ उनले भने ‘ तर तिहारमा अन्य समयको तुलनामा धेरै नै फूलका मालाको माग छ ।’ तिहारका लागि अहिले उनको फर्मबाट लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा र पोखरा, कैलाली, उदयपुर, चितवन लगायतबाट पनि फूल पठाउने गरेको बताउँछन् ।‘मेरो नर्सरीबाट अहिले लुम्बिनी प्रदेशका सबै जिल्ला फूल निर्यात हुने गरेको छ ।’ उनले भने ‘लुम्बिनी प्रदेश बाहिरका जिल्लामा पनि फूलको माग रहेको छ।’

यस वर्ष लुम्बिनी प्रदेशमा ९ लाख माला उत्पादन हुने भएता पनि बेमैसमी वर्षाका कारण ५० प्रतिशतमा क्षति पुगेको पाण्डेले बताए ।‘लुम्बिनी प्रदेशमा यस वर्ष ९ लाख माला उत्पादन हुने र ३ लाख माला बाहिर निर्यात गर्ने योजना रहेको थियो ।’ उनले भने ‘केही दिन अघिको वर्षाका कारण हुर्किसकेका बोटमा क्षति हुँदा सोँचे अनुरुपको काम हुन पाएन्।’

बेमौसमी वर्षाका कारण फूलमा क्षति भएका कारण यस वर्ष गत वर्ष भन्दा भन्दा केही महङ्गो हुने उनी बताउँछन् । अहिले नै प्रतिमाला १५० रहेकाले तिहारको दिनसम्म मूल्य बढेर २५० सम्म पुग्न सक्ने उनी बताउँछन् । पहाडी क्षेत्रमा छिटो फूल फुल्ने र तराइमा केही समय प्रतिक्षा गर्नु पर्दा तिहारमा एकै पटक फूलको माग हुँदा मूल्य बढी हुने गरेको उनी बताउँछन् । लुम्बिनी पुष्प व्यवसायी संघले लुम्बिनी प्रदेशलाई फूलमा आत्मनिर्भर बनाउनका लागि प्रदेशका जिल्लाका फूलखेती हुने क्षेत्रको अनुसन्धान गरेर त्यहाँ फूलखेती गरेर आत्मनिर्भर बनाउने तयारी रहेको बताए ।

हालै मात्रै पुष्प खेतीमा प्रवेश गरी पहिलो पटक बेचबिखन गर्न लागेका देवदहका पवन तिवारी भने पुष्प खेतीबाट उत्साहित छन् । कृषिमा स्नातक छैंठौं सेमस्टेर अध्ययन गर्दै आएका उनी प्रयोगात्मक रुपमै कृषिमा होमिएका छन् । गत असारमा ५ कट्ठा जग्गामा सवा लाख लगानी लगाई फूलखेती सुरु गरेका उनी उत्पादित फूल बेच्न लागिरहेका छन् । तिहार नजिकिँएसँगै सयपत्री फूल खोज्नेहरु पनि बढेको र फूलको माग रहेको उनी बताउँछन् ।

पवन तिवारी

चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन गर्दै आएका उनले कृषिमै केहि गरौं भन्ने सोँचका साथ उनले देवदह– ५ खैरेनी , बैकुण्ठनगरमा अल्फा एग्रो फार्म एण्ड रिसर्च सेन्टर स्थापना गरी खेती सुरुवात गरेका छन् । ५ हजार सयपत्री फूलका विरुवा रोपण गरेतापनि ४ हजार मात्रै विकसित भई फुल्न सफल भएको उनले जनाए ।‘ कृषि पढ्दैछु । यही क्षेत्रमा केहि गरौं भनेर ३ महिना अघि मात्रै म र बुवा मिलेर सुरु गरेका हौं । त्यतिबेला ५ हजार विरुवा रोपेको हो तर, ४ हजार मात्रै छन् अहिले।’

तिहार लागेसँगै केहि दिन अगाडिदेखि फूल बिक्री गर्न सुरु गरेका उनले ५ हजार बढीको बिक्री गरेको जनाए । माला र गुच्छा बनाएर विक्री गर्दा प्रतिमाला रु १०० र प्रतिगुच्छा डेढ सयमा त्यसैगरी प्रतिकिलो ५ सयका दरले बिक्री गर्ने उनले जनाए । केहि फूलहरु मंसिर विवाहको सिजनका लागि तयार हुने उनले जनाए ।

विषादीरहित अर्गानिक फूल उत्पादन गरेको बताउने तिवारीले उत्पादित फूलबाट करिब ५ लाख आम्दानी हुने अपेक्षा रहेको बताए । अहिले फूल माग गर्नेहरु कोही घरमै आउने,कोहीले अनलाइनमार्फत अर्डर गर्ने र कसैले पसलमै ल्याइदिन आग्रह गर्ने गरेको उनले बताए । सरकारले कृषिका लागि अनुदान दिएर युवाहरुलाई प्रोत्साहन गरे देशमा आवश्वक फूल उत्पादन गर्न सकिने उनी बताउँछन् ।