ताजा अपडेट »

जडशुत्रवाद !

बुधबार, १७ कार्तिक २०७८

जडशुत्रवाद राजनीतिमा देखापर्ने गम्भीर प्रकृतिको रोग हो । यो विचार बोकेका व्यक्तिहरू पदार्थलाई, समाजलाई, पार्टीलाई, शक्तिलाई गति र परिवर्तनमा बुझ्दैनन् । उनिहरुको दृष्टिमा राम्रो छ भने सदावहार राम्रो र खराब छ भने सदावहार खराब । जब कि यथार्थमा राम्रो नराम्रोमा र नराम्रो राम्रोमा बद्लिने गर्दछ । हिजोको एक नम्बरको शराबी आज सज्जन बन्न सक्दछ, आजको अनुशासित ब्यक्ति भोलि शराबी बन्न सक्दछ । आजको इमानदार ब्यक्ति भोलि बेइमान बन्न सक्दछ र आजको बेइमान भोलि राम्रो संगतबाट इमानदार पनि बन्न सक्दछ ।

एक जमानाको क्रान्तिकारी नेता अर्को परिस्थितिमा गद्धार बन्न सक्दछ र हिजो बाटो बिराएको नेता पछि सुमार्गमा पनि आउने गर्दछ । समयको चक्र जस्तै मानिसका आदर्श, संस्कार, संस्कृति, आचरण र व्यवहार पनि एक अर्कोमा रुपान्तरण हुने गर्दछन् । पार्टी बारे पनि यो कुरा साँचो हो ; एक जमानाको क्रान्तिकारी पार्टी अर्को परिस्थितिमा सुधारवादी, दक्षिणपन्थी वा प्रतिक्रान्तिकारी भएका थुप्रै उदाहरण हामी पाउँदछौँ । त्यसैगरी दक्षिणपन्थी दिशामा अगाडि बढेको पार्टी नेतृत्व परिवर्तन पछि क्रान्तिकारी बाटो समातेका पनि थुप्रै उदाहरण रहेका छन् । सहि र सत्य के हो भनेर भन्नको लागि समय, घटना र सन्दर्भसँग जोडेर मात्र भन्न सकिन्छ ।

कुनैपनि वस्तु, पात्र वा पार्टीलाई सदा सर्वदा ठीक र सदा सर्वदा बेठीक भन्नु जडशुत्रीय चिन्तनधाराको प्रभाव हो । वस्तुगत जगतमा त्यस्तो हुने गर्दैन र उदाहरणको लागि पोइजन राम्रो की नराम्रो ? मुसा मर्यो राम्रो काम गर्यो, मान्छे मर्यो नराम्रो काम भयो, मान्छे मर्यो राम्रो की नराम्रो? गाउँको उमेरकै इमान्दार मान्छे मर्यो नराम्रो, दश गाउँमा डाँका हाल्ने खुँखार डाँका मर्यो राम्रो ।

नेताले पार्टी फोर्यो राम्रो की नराम्रो? क्रान्ति र परिवर्तनको निम्ति फोर्यो राम्रो, आफ्नो स्वार्थ सिद्धिको निम्ति फोर्यो नराम्रो । नेता दिल्ली गयो राम्रो की नराम्रो? उपचारको निम्ति वा पार्टीको कामको निम्ति गयो राम्रो, राष्ट्रिय हितको सौदाबाजीको निम्ति गयो नराम्रो । गुलियो कुरा राम्रो की नराम्रो? स्वस्थ व्यक्तिको लागि राम्रो, सुगर बिरामीको लागि नराम्रो । यी उदाहरणबाट हामी भन्न सक्दछौँ कि सधैँभरि राम्रो र सधैँभरि नराम्रो भनेर विश्लेषण गर्नु द्वन्द्ववाद विरोधी विचार हो ।

हामी कहाँ यो जडशुत्रीय चिन्तनधारा जबरजस्त रूपमा जरा गाडेर बसेको छ । हिन्दू धर्म ठीक भन्नेहरूले त्यसका कमजोरीहरू नदेख्ने र अन्य धर्मको बारे अध्ययन नै नगर्ने, त्यसै गरी इस्लाम धर्म मान्नेहरू त्यस भित्रका कमजोरी नदेख्ने, त्यसै गरि इसाई धर्मले पनि मानिसलाइ द्वन्द्ववादी होइन की आध्यात्मावादी मात्र बनाउने, समग्र अध्ययनलाई निषेध गर्ने । त्यसैगरी राजनीतिमा पनि काँग्रेस भनेपछि सदा सर्वदा ठीक ठान्ने र त्यस भित्रका कमजोरीहरू नदेख्ने, त्यस्तै माओवादी, राप्रपा, राजपा वा जसपा, मसाल सबैमा यो जडसुत्रीय चिन्तन मौलाउन पुगेको छ ।

मलाई सम्झना छ कि २०३६ सालमा चौमको कार्यकर्ताको झोलामा नेकपा (माले) को वर्गसंघर्ष भन्ने मुखपत्र फेला पर्दा उनी कारबाहीको भागीदार बनेका थिए । यही त हो निषेधको राजनीति । यो जडसुत्रीय चेतनाबाट हामी सबै मुक्त हुन जरुरी छ, राम्रोलाई राम्रो र नराम्रोलाइ नराम्रो भन्न सक्नु पर्दछ, समग्र अध्ययनबाट मात्र सत्य र यथार्थमा पुग्नु पर्दछ ।

मेरो पार्टी मात्रै राम्रो, मेरो नेता मात्रै राम्रो, मेरो परिवार मात्रै राम्रो, मेरो जात मात्रै राम्रो, मेरो संस्कृति मात्रै राम्रो, मेरो धर्म मात्रै राम्रो, मेरो भेषभूषा मात्रै राम्रो, मेरो भाषा मात्रै राम्रो भन्ने चिन्तन प्रगति विरोधी चिन्तनधारा हो । अतः हिन्दू धर्मका पण्डितहरूले अठार पुराण पढेर मात्र सत्य यही हो, मोक्ष प्राप्तिको बाटो यही भनेर नभन्नुस्, तपाई अन्य धर्मको पनि अध्ययन गर्नुहोस्, कुरानको अध्ययन गर्नुस्, वाइवलको अध्ययन गर्नुस् । तब मात्रै तपाइको ज्ञानको भण्डार विस्तार हुनेछ, त्यस्तै इसाइ धर्मका, इस्लाम धर्मका गुरूहरूले पनि अठार पुराण र वेदको अध्ययन गर्नुहोस अनि मात्र तपाइको ज्ञानको भण्डारको विस्तार हुनेछ ।

राजनीति बारे पनि यो कुरा साँचो हो, काँग्रेस पढौं, एमाले पढौं, माओवादी पढौं, मसाल पढौं, राप्रपा पढौं, जसपा पढौं, केपी ओली पढौं, माधव नेपाल पढौं, मोहन विक्रम पढौं, शेरबहादुर रामचन्द्र पढौं, कमल थापा पढौं, बावुराम पढौं, महन्त राजेन्द्रहरु पढौं, उनीहरूको इतिहास पनि पढौं,व्यवहार पनि पढौं, आचरण र चरित्र पनि पढौं । राम्रो भित्र नराम्रो खोजौं, नराम्रो भित्र राम्रो खोजौं, समग्र अध्ययनले हाम्रो ज्ञानको वृद्धि हुनेछ र हामी यथार्थताको नजिक पुग्ने छौं । हामी सबै जडशुत्रवादी होइन की द्वन्द्ववादी बनौं । मैले यसरी सोचे, यहाँहरूले पनि यसरी नै सोच्नु पर्ला कि !