ताजा अपडेट »

नेकपा तिलोत्तमाले सदस्यता नवीकरणलाई प्रभावकारी बनाउने

शनिबार, ११ असोज २०७६

असोज ११,
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीको शुक्रबार बसेको बैठकले पार्टी सदस्यता नवीकरण अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको छ । नगरका १७ वटै वडामा सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले जानकारी दिए । त्यस्तै बैठकले नजिकिंदै गरेको बडादसैं, दीपावली र छठका अवसरमा नगरका १७ वटै वडामा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गर्नुका साथै आगामी आइतबार हुने क्षेत्र नम्बर १ को प्रशिक्षणमा तिलोत्तमा नगरबाट पनि कार्यकर्ता सहभागी गराउने निर्णय गरेको छ ।

बैठकलाई संबोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य दधिराम न्यौपानेले आर्थिक उन्नति र विकासको प्रगति ल्याउन कार्यकर्तालाई जनप्रतिनिधिसँग मिलेर काम गर्न आग्रह गरे । यस क्षेत्रको विकासमा योगदान दिन, आर्थिक उन्नति र समाजमा परिवर्तनको सकारात्मक परिणाम र असर पार्न सक्ने गरी महत्वपूर्ण भूमिका खेल्न पनि उनले आग्रह गरे । नेकपाका प्रदेश कमिटीका कार्यालय सदस्य गोपाल भट्टराईले जनप्रतिनिधि र कार्यकर्ताको भूमिकालाई जनताले नजिकबाट हेरिरहेको भन्दै जनताको मन जित्ने गरी काम गर्न आग्रह गरे ।

नेकपा रुपन्देहीका जिल्ला सचिव निर्मल जिसीले अधिकांश स्थानीय तह, प्रदेश र संघमा नेकपाको सरकार रहेकाले सरकारसँग समन्वय र सहकार्य गरी जनताको पक्षमा काम गर्न र पार्टी संगठनलाई मजबुत बनाउने गरी अघि बढ्न सुझाव दिए । नेकपा तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईंको अध्यक्षमा बसेको बैठकमा नेताहरु तेजेन्द्र केसी, यज्ञ गैरे, लक्ष्मण खनाललगायतले पनि संबोधन गरेका थिए ।