ताजा अपडेट »

बुटवलमा साढे ५१ लाखको अवैध सामान बरामद

बुधबार, १७ कार्तिक २०७८

भैरहवा । रुपन्देहीबाट तस्करी हुँदै गरेको ठूलो परिमाणको समान रुपन्देही प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार बिहान ५१ लाख ४८ हजार ५ सय रुपैया बराबारको अवैध सामग्री बरामद गरेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले बिशेष सूचनाको आधारमा उक्त सामाग्री बरामद गरिएको जनाए । बुटवल उप–महानगर पालिका वडा नम्बर १ को तिनाउ पुलबाट लु१ज ४६३६ र लु१ज ३७८७ नम्बरको जिपमा भारतबाट अवैध रुपमा ल्याईएको सामाग्री प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार बरामद भएको सामाग्रीमा ६० हजार पिस ओठमा लगाउने “लिपगार्ड” रहेको छ । यस्तै उनी कुर्ता सुरुवाल सेट २ सय ३६ पिस, चुन्नी ६ सय पिस, बनारसी साडी ६७ पिस रहेको छ । पक्राउ परेको २ वटा जिप सहित बरामद भएको समान प्रहरीले करिब साढे ५१ लाख मूल्यांकन गरेको छ । यस्तै बिभिन्न ब्राण्डका जुत्ता, टिशर्ट, बिभिन्न प्रकारका सुटहरु पनि प्रहरीले बरामद गरेको प्रवक्ता थापाले जानकारी दिए ।

भरिया मात्र प्रहरीका निशानामा, गहिरो अनुसन्धानमा अनिच्छुक प्रहरी
गत आर्थिक बर्षमा जिल्ला प्रहरी कार्यालयले १० करोड बढीको अवैध सामग्री बरामद गरेको थियो । चालु आर्थिक बर्षमै ५ करोड हारहारीमा अवैध सामाग्रीहरु बरामद भई सकेका छन् । तर यी सामाग्री ल्याउने केही भरिया बाहेक तस्करीमा संलग्न तस्करहरुलाई पक्राउ गर्न प्रहरीले कहिले चासो दिएको पाईन्न । जिल्लामा अहिले ठूलो देखी सानो तस्करहरु सक्रिय रहेका छन् । कतिपय तस्करीको अवश्थामा प्रहरीले भरियालाई समात्ने गरे पनि अधिकांश घटनामा यस्ता सामाग्री बेवारिसे देखाउने प्रहरीको बानी छ ।

तस्करीमा संलग्न मूख्य नाईकेहरु पक्राउ नपर्दा रुपन्देहीमा तस्करी नियन्त्रण हुन नसक्ने जानकारहरु बताउछन् । भरिया आउने जाने भै रहन्छ, सीमा क्षेत्रमा यस्ता भरिया प्रयाप्त छन् । यसले नाईकेहरुलाई कारोबार गर्न सहज हुने गरेको छ । तस्करी कसले गराई रहेको छ ? यसमा कुन नाका बढी प्रयोग भएको लगायतको बिषयमा प्रहरीले गहिरो अनुसन्धानमा चासो देखाएको छैन् । आज बरामद गरेको सामाग्री संगै जिप चालक सैनामैना वडा नम्बर २ का ४० बर्षिय तुलसी थारु र सोही ठाउका ४० बर्षिय मिन प्रसाद भण्डारी पनि पक्राउ परेका छन् ।

प्रहरीले यी दुवै जना सहित बरामद भएको समान भैरहवा भन्सार कार्यालय थप कार्यवाहीको लागी पठाएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले पक्राउ परेका दुवै चालकलाई आवश्यक सोधपुछ गरि तस्करीमा संलग्नहरु सम्म पुग्ने दावी गरेका छन् ।