ताजा अपडेट »

एडीबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने

शनिबार, ११ असोज २०७६

असोज ११,
काठमाण्डौं । एशियाली विकास बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बैंकले शुक्रबार ‘नेपाल म्याक्रो इकोनोमिक अपडेट’ सार्वजनिक गर्दै पूँजीगत खर्चमा हुने वृद्धि, निजी क्षेत्रको सबल लगानी तथा ठूला भौतिक पूर्वाधारको विकास तथा विस्तारले पनि आर्थिक वृद्धिदरलाई बढावा दिने बैंकले जनाएको छ ।बैंकले सामान्य मनसुन, ठूला भौतिक पूर्वाधारको योजनाले गति लिएको, पर्यटक आवागमनमा भएको वृद्धि जस्ता कारणले नेपालको आर्थिक विकास र विस्तारलाई समेत थप बल पु¥याउने एडीबीका देशीय निर्देशक मुख्तोर खामोद खानोभले बताउनुभयो । गत आवमा सरकारले ८.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको भए पनि ७.७ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।

बैंकले सन् २०२० मा औद्योगिक क्षेत्र ७.९ प्रतिशतले विस्तार हुने तथा औद्योगिक उत्पादनमा वृद्धि हुने समेत स्पष्ट पारेको छ । ठूला भौतिक पूर्वाधारसहित विद्युत् वितरणमा आएको सुधार, लगानीमा हुने विस्तारले नेपालको आर्थिक वृद्धिलाई टेवा पु¥याउने बैंकको भनाइ छ ।यस्तै सेवा क्षेत्रमा ६.९ प्रतिशतले विस्तार हुनेसमेत प्रक्षेपण गरेको छ । गत आवमा ४.६ प्रतिशतमा रहेको मूल्यवृद्धि सो अवधिमा ५.५ प्रतिशत पुग्ने उल्लेख गरेको छ । भारतीय बजारमा हुने मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा समेत पर्ने भएकाले मूल्य वृद्धिको दरमा वृद्धि हुने उल्लेख गरेको छ । चालू खातामा रहेको घाटा तथा उच्च व्यापार घाटाका कारण बाह्य क्षेत्रसमेत असन्तुलित हुने बैंकको भनाइ छ ।- नेपाल समाचारपत्र